Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कृष्ण कँडेल लोक गीत र समाज सेवामै जीवन बिताउन चाहन्छन्

कृष्ण कँडेल लोक गीत र समाज सेवामै जीवन बिताउन चाहन्छन्

नेप्लिज डायस्पोरा

१४, श्रावण २०७७
images
कृष्ण कँडेल लोक गीत र समाज सेवामै जीवन बिताउन चाहन्छन्

काठमाडौँ । गत चैत्र महिनामा नेपालमा लकडाउन शुरु गरिए पछि खासगरी दैनिक ज्यालादारी गर्ने मजदूरहरु र न्यून आय भएका परिवारहरु भोकै बस्ने स्थिति उत्पन्न भएका समाचारहरु आउन थाले। त्यो देखेर लन्डनस्थित एउटा सामुदायिक संस्था, बर्न्टओक नेपाली समाजका सदस्यहरुले आपसमा मिलेर सहयोग संकलन गरे। उनीहरुले संकलन गरेको रकम अब कसरी, को मार्फत नेपाल पठाउने भन्ने प्रश्न आयो। अधिकांश सदस्यहरुले एक मतले लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेललाई सम्झिए।

“कृष्णजीले संचालन गर्ने इन्द्रेणी कार्यक्रम बेलायतमा बस्ने नेपालीहरु माझ निकै लोकप्रिय छ। फेरि उहाँ मार्फत सहयोग गर्दा सांच्चिकै आवश्यकता परेका व्यक्तिहरुसम्म त्यो सहयोग पुग्छ र दुरुपयोग हुँदैन भन्ने विश्वासका कारण हामीले उठाएको सहयोग उहाँ मार्फत पठाएका हौँ," बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले भने । समाजले पठाएको झन्डै ३३०,००० रुपियाँ कँडेल मार्फत नेपालमा सहयोग वितरण भै सकेको छ।

लकडाउनमा व्यस्त सञ्चालक कँडेल

लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको होला। तर टेलिभिजनको लोकप्रिय लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेललाई भने लकडाउनले पहिलाभन्दा पनि झनै व्यस्त बनायो । उनी ज्यानको बाजी राखेर देशभर राहत वितरणमा खटिए। सातै प्रदेशमा पुगेर कँडेलले लकडाउनसँगै रोजगारी खोसिएका तथा विभिन्न समस्याबाट पीडित नागरिकको घाउमा मलम लगाउँदै आएका छन्।

 

लकडाउनअघि दीर्घ रोगी, बाढी पहिरो र विभिन्न समस्यामा परेका आम नागरिकलाई सहयोग गर्दै आएका कँडेलले लकडाउनसँगै झन् धेरै नेपालीलाई राहत बाँडेर उनीहरुको मुहारमा खुसी ल्याइदिए।

आफ्नो समाजसेवालाई धर्म, कर्म र सेवा सोच्ने कँडेलले यो लकडाउनमा एक दिन पनि घरमा बिताउन पाएनन्। लकडाउन सुरु हुँदा बिरामी भएका कँडेल आफ्नो स्वास्थ्यको ख्यालै नगरी राहत वितरणमा निस्किए।

उनी भन्छन्, “जन्मेपछि एक दिन मर्नु त छँदै छ। विश्व कोरोनाले आक्रान्त हुँदा मैले किन सहयोग नगर्ने ? मरे मरिन्छ भनेर श्रीमतीलाई सम्झाएर युद्ध मैदानमा होमिएको सिपाही झैँ राहत वितरणमा होमिएको हुँ। यो विपतको समयमा अप्ठ्यारो धेरैलाई परेको छ । यस्तो अवस्थामा उनीहरुको सेवा नगरी बस्न मेरो मनले मानेन। अहिले सहयोग गर्न पाइएन भने अरु बेला गरेको सहयोगले के महत्व राख्ला र ?"

एक महिना आराम गर्न डाक्टरको सल्लाह

लकडाउन सुरु हुनअघि नै बिरामी परेका कँडेल अहिले पनि पूर्ण रुपमा स्वस्थ भइसकेका छैनन्। डाक्टरले उनलाई एक महिना आराम गर्न सुझाव दिएका थिए। त्यही बेला लकडाउनको अप्ठ्यारोमा धेरैले उनलाई फोन गरे, आफ्नो समस्या सुनाए। त्यसपछि उनी डाक्टरको सुझावको अवज्ञा गर्दै सहयोगका लागि निस्किए।

उनी भन्छन्, “लकडाउन भएको एक साता त शान्त नै बसेको थिएँ । तर अरुको दुःख सुनेर म सुतेर बस्न सकिनँ । त्यसैले डाक्टरको सुझावलाई नमानी राहतका लागि निस्किए। लकडाउनमा पनि मैले कार्यक्रम इन्द्रेणीलाई निरन्तरता दिन पाएँ। अहिले पछिल्लो कार्यक्रमका केही भाग लकडाउन विशेष बनेका छन्। कार्यक्रम सञ्चालन गर्दै राहत वितरण गरिरहेको छु।”

इन्द्रेणी कार्यक्रममार्फत अहिले अनाथ आश्रम, बालगृह, कलाकार, बाटोमा अलपत्र नागरिकलगायत सबैलाई सहयोग गर्ने काममा उनी सक्रिय बनेका छन्।

 

सातै प्रदेशको चक्कर लगाएर गत साता काठमाडौँ फर्किएका कँडेलका आँखा मधुरा छन् । दाँतको समस्याले बोल्न पनि गाह्रो । राहतका लागि काठमाडौँ बाहिर जाने बेलामा बुद्धि बङ्गारो फालेर ५ वटा टाँका लगाएका उनले १९ दिनपछि मात्रै टाँका खोलेका छन्।

कँडेलले भने, “हल्का हल्का पहिलादेखि नै दुख्थ्यो। पछिल्लो समय साह्रै नै भएपछि अस्पताल गएर अप्रेशन गराएँ । डाक्टरले ३ दिनमा काट्नुपर्छ भनेको टाँका १९ दिनमा बल्ल काटियो । यसले बोल्न गाह्रो भएको छ।”

राहतको हिसाब किताब

आएको जति राहत उनले अझै धेरै ठाउँ र धेरै मानिसलाई पुर्याउन बाँकी नै छ। यति खटिँदा पनि कतिले दिने भनेर राखेको सहयोग लिन जान उनले अझै भ्याएका छैनन् भने कतिलाई दिन पनि पाएका छैनन्। कहाँबाट आएको र कति दिएको सधै हिसाब किताब उनीसँग सुरक्षित छ। उनी भन्छन्, “मैले समाजसेवा गर्दै जाँदा कसैले म माथि औँला उठाउन नसकोस भनेर सबै हिसाब किताब सुरक्षित र व्यवस्थित बनाएको छु। विदेशमा पसिना बगाएर नेपालीले गर्नुभएको सहयोगको सही मूल्याङ्कन होओस् भन्ने चाहन्छु।”

कहाँबाट कसले, कति र कसलाई सहयोग गरेको भन्ने कुरा उनले इन्द्रेणी कार्यक्रमबाट पनि घोषणा गर्दै आएका छन्। सहयोग लिने र दिने सबैको नाम कार्यक्रमबाटै भनिदिँदा रकमको दुरुपयोग हुन नपाउने उनी बताउँछन्।

उनी भन्छन्, ‘सानो सहयोग होस् वा ठूलो, सबैको नाम मैले कार्यक्रमबाटै सार्वजनिक गर्ने गरेको छु। धेरै नाम पढ्दा पढ्दै अहिले त मलाई बोल्न पनि गाह्रो भएको छ। त्यसमाथि स्वास्थ्य अवस्था ठिक छैन।’

उनी भन्छन्, “रातदिन सेवामा खटिँदा खटिँदै मेरो कारणवस मृत्यु भइहाल्यो भने पनि नेपालीले पठाएको राहत दुरुपयोग हुन पाउँदैन। यो लकडाउनको बेलाको सबै हिसाब किताब ३ जना व्यक्तिलाई थाहा छ। तीनमध्ये कसैको ज्यान गइहालेपनि बँचेकाले त्यो हिसाब पारदर्शी बनाउने छन् ।”

लकडाउनमा मात्रै साढे ५ करोड राहत वितरण

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा मात्रै उनले साढे ५ करोड रुपैयाँ राहत वितरण गरिसकेका छन्। लकडाउनले गर्दा खान नपाएका, रोजगारी गुमाएका, घर भाडा तिर्न नसकेर निकालिएका, ग्यास सकिएर पकाउन नपाएका, बिरामी भएर उपचार गर्न नसकेकालगायत विभिन्न समस्यामा परेका नागरिकलाई कँडेलले सहयोग गर्दै आएका छन्।

उनले राहत बाँड्दा धेरै सोधखोज गरेर मात्रै दिन्छन् ता कि साँच्चिकै समस्यामा परेका व्यक्तिले नै राहत पाओस्। उनी भन्छन्, ‘राहत बाँड्ने नाममा जसलाई पायो उसैलाई दिन पनि त भएन नि । त्यसैले धेरै अनुसन्धान तथा सोधिखोजी गरेर मात्रै दिने गरेको छु। ता कि राहत वास्तविक पीडितको हातमा मात्रै परोस्।’

बाँकी पढ्न जीएनएनको यो लिंकमा क्लिक गर्नुहोस

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०२:३०:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend