Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साथी (लघुकथा) - घनश्याम डल्लाकोटी

साथी (लघुकथा) - घनश्याम डल्लाकोटी

नेप्लिज डायस्पोरा

२०, श्रावण २०७७
images
साथी (लघुकथा) - घनश्याम डल्लाकोटी

 

मेरो एउटा प्रिय साथी थियो । मेरो घरमा ऊ अाउँथ्यो । हामी सँगै बसेर पढ्थ्यौँ । सँगै घुम्न जान्थ्यौ ।

ऊ घरबाट कलेज जाँदा एकतर्फी भाडा बोक्थ्यो फर्किँदा मैले तिर्नु पर्थ्यो । क्यान्टिनमा खाजाको पैसा कहिल्यै तिरेन । मैले नै तिर्छ भन्नेमा ऊ विश्वस्त हुन्थ्यो ।

एक दिन उसलाई पोखरा घुम्न जान मन लाग्यो । बाअामाले उसलाई पैसा दिएन ।
१९ बर्षकै उमेरमा म शिक्षक जागिरे थिएँ । मैले एक महिनाको पूरै तलब १२५०/- रुपैयाँ खल्तिमा बोकेको थिएँ । २ रात पोखारा घुमाइपछि हामी घर फर्कियौँ । मैले एक महिनाको तलब २ दिनमा सकेर फर्केकोमा , बा-अामाले मलाई गालि गर्नु भयो ।

त्यसको केही समयपछि, मेरो प्रिय साथी, मेरो घरमा अाइपुग्यो र भन्यो , "मलाई काठमाडौं लैजा न यार, म मर्ने भएँ । "

मैले सोधेँ , " के भयो ?"

"मेरो पेट बेसरी पोल्छ । खाने कुरा निल्दा, असाध्यै दुख्छ । बा-अामाले, अस्पताल जान पैसा छैन, भन्नुहुन्छ । "

"मैले अामासँग छलफल गरेँ । अामाले भन्नुभयो , " तिनीहरू सम्पत्ति भएका मान्छे हुन् । राजमार्गको छेउमै त्यत्रा जमिन छ । उसलाई घर पठाइदे । तँ खुरुक्क पढाउन जा ।"

" प्रिय साथी, म जान सक्दिनँ । तँ कसैको सहयोगमा काठमाडौं जा ।" मैले यति बोल्नासाथ ऊ मलाई अँगालो मारेर रुन थाल्यो र भन्यो, मेरो जीवन बँचा, यार ! म तेरो गुन कहिल्यै बिर्सने छैन ।"

मैले उसलाई काठमाडौं लिएर गएँ । दिदी-भिनाजु बस्ने भाडाको कोठामा एक हप्ता बसेर उपचार गरेर फर्कियौँ ।"

केही बर्षपछि राजमार्ग छेउको एक कट्ठा जमिन बाह्र लाखमा बेचेर ऊ बेलायत गयो । ४-५ बर्षमा नेपाल फर्कियो । कसैबाट मेरो फोन पत्ता लगाएर मलाई फोन गर्यो र भन्यो , " मलाई भेट्ने भए अाइज, म अब एक हप्तापछि बेलायत फर्कँदैछु ।"

म बिमारी थिएँ , सकी नसकी फोनमा भनेँ , " तँ अाइज न यार, म भाइरल ज्वरोले थलिएको छु । अाज ४ दिन भयो , अोछ्यान परेको ।"

उसले जवाफमा भन्यो , " मलाई भेट्न मन भए अाइज , त्यता अाउन फुर्सद छैन । " यति भनेर उसले फोन काट्यो ।
रानपा -८ , चितवन
२०७७ साउन १३

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:५९:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend