Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

श्रद्धाको फूल राष्ट्रकविमा ! -उत्तम विचार

श्रद्धाको फूल राष्ट्रकविमा ! -उत्तम विचार

नेप्लिज डायस्पोरा

८, भाद्र २०७७
images
श्रद्धाको फूल राष्ट्रकविमा ! -उत्तम विचार


🌺🌺🌺


शार्दूलविक्रीडित छन्द ।

हे प्यारा कवि धन्य छौ तिमी सदा यो राष्ट्रका खातिर
बाँच्यौ दिव्य जहाँ रचेर कविता हौ ज्ञानका मन्दिर ।
सिङ्गो जीवनका गर्‍यौ पलहरू साहित्यमै अर्पण
स्रष्टा माधव जो अमूल्य निधि हुन् यो राष्ट्रका दर्पण ।।१।

रुन्थे शान्ति र कान्ति झन् विरहमा सम्झेर आमा भनी
गौरी रच्न पुग्यौ वियोग मनमा बोकेर पीडा अनि ।
उम्दा काव्य भनी यही कहलियो साहित्यको फाँटमा
जाऊ हे कविजी विलम्ब नगरी गौरी रहन्छिन् जहाँ ।।२।

नेपाली रहला कहाँ भन सखे नेपाल नै छैन ता
यस्ता कालजयी अनेक रचना गर्ने थियो दक्षता ।
लेखी किन्नर-किन्नरी कवि जुटे भाका सुनौला थिए
थुप्रै बाल कथा र नाटक रचे जो मालती मङ्गले ।।३।

ठान्थे झन् नव मञ्जरी चहकिलो आफ्नै थियो बाँसुरी
चम्के दिव्य जहाँ निरन्तर जुटे साहित्य सेवा गरी ।
चर्चा चारु थियो पुग्यो शिखरमा साझा पुरस्कारले
सिङ्गो देश झुम्यो सधन्य कविमा जो काव्य उद्गारले ।।४।

माटो बोल्छ जहाँ झरेर छहरा छङ्छङ् गरी गीतमा
बोल्छन् गीत चरी उडेर नभमा नाच्छन् अहो प्रीतमा ।
अस्तायो कवि देह दिव्य रहला ठानी यही गौरव
राख्छौँ साथ सदा बसून् हृदयमा भन्छौँ उनै माधव ।।५।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २२:५९:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend