थन्किएकाे रेल त्याे जुन चल्थ्याे पहिले
रङ्गिइकन अाउँदा पुन: अहिले
लाै अायाे भन्दै भए सबै दङ्ग
सेल्फि नि खिचे त्यही रेल सङ्ग !
बाेकेर यात्रु चल्न अाज छाेडी
थन्कियाे किन फेरि पाल अाेडी ?
मान्छे छन् बरू खुला अाकाशमुनी
कटाउँछन् रात बालेर धूनी !
रेलै पाे हाे कि बरू भाग्यमानी ?
चढ्न पाएनन् ती पान खानी
छाेपिन्छ वस्तु कि त लाज छेक्न
कि त जाेगाउन चाेरबाट देख्न
देखाउन नहुने चीजलाई पाे छाेप्थे
लाज हुन्छ जस्लाई उसले मुख ढाेक्थे !
खुल्ला छाै तिमी रेल छ मुख छाेपी
मुख ढाक्नु पर्ने त तिम्ले पाे हाे कि ?
यस्तै गरेर कति कुर्सी धान्नी ?
रेलले कि तिम्ले हाे लाज मान्नि ?
कहाँ गए ती चुनावका बाेली
बिर्सियाै सबै ती अाजभाेली !
थाक्याे याे कलम बेथितीमा लेख्दा
उदेकै लाग्छ यी खबर देख्दा
दिनेले भन्छ सित्तैमा दिएँ
लिनेले भन्छ किनेर लिएँ !
छाेपेर पालले गरेउ किन त्यसाे ?
रेल हाे कि झेल हाे पाइएन मेसाे !
नक्शा र रेल त्याे जब अाए दुबै
जय जयकार नि गरियाे खुबै
लगायाै लाेगाे छापी चुच्चे चित्र
अटेन त्यही चित्र पाठ्यक्रमभित्र !
रेल पनि अायाे पाइएन चढ्न
नक्शा नि छाप्पियाे पाइएन पढ्न
त्याे चुच्चे नक्शा याे फुच्चे रेल
कस्ताे हाे नियत कस्ताे हाे खेल!!
(व्यङ्ग्य कवि नेपाली साहित्यकाे पहिलाे व्यङग्यकाव्य'काेइली'का समेत काव्यकार हुन् ।)