सुकेका पसिना आफै सँगाली बेच्न सक्दिन
खनजोत गरी धर्ती समारी सिंच्न सक्दिन
डुब्यो देश, सुके आँसु सधै सहन सक्दिन
नसोचेको व्यथाबाट आफै उम्कन सक्दिन !
कति दुर्बल हो मान्छे ! कठै बाहेक के भनूँ
लाउँदा यसले धाक हाँस्न थालूँ कि वा सुनूँ
यो संसारै नचाएको सम्झन्छ घुम्छ शानले
नचाउँछ सधै किन्तु स्वार्थले, अभिमानले
कोरोनासित तर्सेर लुकेको घरमै छ यो !
भूकम्पमा डराएर भागेको भर्खरै त हो
भर्खरै आउँदा बाढी बगेको बिर्सिने भयो
पैह्रोको त कुरै छाडौं पुरियो, पुरिँदै गयो !
युगौंदेखि सधै भोग्दै आएको छ कठोरता
सही नसकिने बाधा, व्यथा, दु:ख र दुर्दशा
सधै विवश भै हेर्न बाध्य आफन्तका कथा
अभिमान भने उस्तै, धाक उस्तै मनुष्यका !
यस्तै देखेर भोगेर बसेको चुपचाप छु
पिरिंदै मनमा हुन्छु सधै धरापमा म छु
चिन्ता बढ्दैन मान्छेको मनमा किन तैपनि
आफै आफ्नासँगै लड्न तम्सिन्छ अहिले पनि ।
किन बिर्सन्छ मान्छेले पीडा, पर्दछ मोहमा
किन दङ्ग परी फुल्छ किन दौडन्छ लोभमा
किन खोज्दैन खै दैवी व्यथा सङ्कट सम्झन
सोच्छ पढ्छ कुरा सिक्छ तर के बुझ्न सक्दिन ।‘
कात्रो, चिता- भए पुग्छ’ भनेको हुन्छ बाहिर
ध्याउन्ना खानकै हुन्छ खालि खान छ माहिर
हेरी, गुनी, बुझी पीडा कहाँ सक्दछु हाँस्न म
मान्छेको चाल देखेर म रुन्छु दिनका दिन
पाल्पा - काठमाण्डौं