"नानी घरभारा डिने हाेइन ?" घरभेटीले हरिकलालाई देख्ने बित्तिकै टाेकिहाल्याे । "टिन टिन महिना भइसक्याे , कहिले डिन्छ टिमीले भारा" उसले रिसाएझैं गरी भन्याे ।
हरिमायालाई घरभेटीकाे कुरा नमीठो लाग्याे । घरबाट पैसा नअाएकाेले उनले त्यही शहरमा बस्ने दिदीभिनाजुसँग सहयाेग माग्ने विचार गरिन् ।
भिनाजुलाई खबर गर्नुभन्दा दिदीसँग कुरा राख्ने विचारले उनले दिदीकाे माेबाइलमा डायल गरिन् । १०,१२ पटक डायल गर्दा पनि दिदीकाे फाेन उठेन ।
"अाेहाे ! दिदीले माेबाइल छाेडेर के काम गर्न लाग्नुभएकाे हाेला" उनले मनमनै साेचिन् । "हाेइन, माेबाइल सँगै नराख्ने भए किन लिनु ?" उनी रिसाइन् । "सुतेर पाे हाे कि ! केही समयपछि पुनः फाेन गर्ने विचारले उनी पढ्न थालिन् ।
४ बज्याे । माेबाइल झिकेर उनले दिदीलाई डायल गरिन् । अाधा घण्टासम्म लगातार डायल गर्दा पनि दिदीकाे फाेन नउठेकाेले उनी निकै रिसाइन् । यी बुढी बहिरी देइलाई किन चाहियाे माेबाइल भन्दै उनी भन्भनिइन् ।
"भाेली त जसरी पनि घरभाडा तिर्नु नै पर्छ, नत्र लाजकाे मर्नु हुन्छ ।" के गराैं कसाे गराैं भएकी हरिकलाले भिनाजुकाे माेबाइलमा डायल गरिन् । कार्यालयीय कामकाे व्यस्तताले उनले रिङटाेन बजेकाे थाहा नै पाएनन् । आठ-दश पटक डायल गर्दा पनि माेबाइल नउठेकाेले अाजित भएर माेबाइल थन्क्याएर राखिन् । मनमनै दिदीभिनाजुप्रति अाक्राेश पाेखिन् ।
साँझ भिनाजु घर पुगेपछि दिदीले उनी बाथरुम गएकाे माैका पारेर उनकाे माेबाइल हेरिन् । माेबाइलका मिसकल देख्नेबित्तिकै उनकाे रिसकाे पाराे ९० डिग्रीमा पुग्याे । तत्कालै उनले बहिनीलाई फाेन गरिन् । "हेल्लाे दिदी मैले कति पटक फाेन......." मात्र के भनेकी थिइन् दिदीले हुङ्कारका साथ "ए ! तैंले भिनाजुलाई त्यत्राे पटक किन फाेन गरेकी ? समस्या परे मलाई भन्न सक्थिनस् । कहाँ मस्ती मार्न जान खाेजेकी भिनाजुसित ? म नभएकाे माैका पारेर भिनाजुलाई फाेन गरेकी नकच्चरी । दिदीमाथि नै ..... । धत् पापिनी ।" दिदीले एकैचोटी मनकाे राग पाेखिन् ।
"दिदी सुन्नुस् न......." उताबाट हरिकला भन्दै थिइन् । "केही सुन्न छैन अब नकच्चरी तँसँग......." भन्दै दिदीले फाेन काटिन् ।
- सुनवल १२ भुमही, नवलपरासी ।
२०७७ असौज १५