अस्ति भर्खरै उत्कृष्ट शिक्षकको सम्मान प्राप्त कृष्णभक्त मौन छन् । उनको मुखबाट एक शब्द फुत्किएको छैन । मात्र टाउको हल्लाउँदै, ग्लानीपूर्ण मुद्रामा छन् ।
यत्तिकैमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आक्रोशित शैलीमा प्रस्तुत हुन्छन्, " ए कृष्णभक्तजी ! तपाईं मास्टर हो कि गुण्डा ?
अलिकति उमेर, पेशा र इज्जतको ख्याल आएन दिमागमा ? धन्न यो काण्ड चुइक्क कसैलाई थाहा छैन । गरिब परिवारको विद्यार्थी भएर मात्रै खतरामुक्त छ घटना । छात्राको अभिभावकले खुसुक्क मलाई गुनासो गरेका मात्र छन् । अब तपाई आफै भन्नुस् यो समस्याको अन्त्य कसरी गर्ने ? "
बल्लतल्ल कृष्णभक्तको दमित स्वर निस्कियो - "अलिकति खर्च पानीको व्यवस्थापन मिलाइदिन्छु । गोप्य ढंगले तपाईंले के के गर्नुपर्छ, गर्नुहोला ।"
व्यवस्थापन समितिको अध्यक्ष पुनः जङ्गियो, "छात्रामाथिको यौन हिंसाको सवाल तपाईंले सोचे जस्तो सजिलो छैन । तैपनि म कोशिश गर्छु । आफ्नै साथी भनेर हेड सर बनाइदिए, काण्डमाथि काण्ड मात्रै गरिरहनु भा छ । यो राम्रो होइन ।एक महिना अगाडिको शिक्षक नियुक्त गर्दा लिएको ६ लाख रूपैयाँ पनि कता पुर्याउनु भो ? खै मेरो भाग ? "
अध्यक्षको लोभको घैंटो देखेर शिक्षकको सास आयो र जुर्मुराउँदै भन्यो, "ए त्यो पैसा ! नदिने नियत छैन मेरो ।भेट्छु- भेट्छु भन्दाभन्दै अनुकूल नै मिलेन । भोलि नै तपाईंको बैंक खातामा हालिदिन्छु । जिल्ला शिक्षा कार्यालयमा पनि एक हिस्सा पठाउँनु छ ।"
यत्ति सुन्ने बित्तिकै थलिएको बिरामी जस्तो भएको अध्यक्ष तङ्ग्रिए जस्तो देखियो । सहानुभूतिपूर्ण शिक्षकलाई आदेश दिँदै भन्यो, "प्राविधिक कुरा त मिल्यो । भोलिदेखि नियमित विद्यालय जानुस् र पठनपाठनमा अघि बढ्नुस् ।"
हप्ता दिनदेखि तनावग्रस्त कृष्णभक्तको शरिरमा एकाएक उर्जा भरियो र उत्साहप्रद कक्षा कोठामा विद्यार्थीहरूलाई भट्ट्याउँदै थिए, "नानी बाबु हो ! हामीले कहिल्यै इमान, निष्ठा भुल्नु हुँदैन । नैतिकता र स्वाभिमान नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।"
- थाहा नपा -३ मकवानपुर