हरेक दिन
साँझ निभेपछि
भोजनालयको दर्शनमा
सेकुवा र अल्कोहल खाएर
युगिन आवाजहरू
र सपना देख्छ उडेर
चन्द्र छोएको
भुसुक्क निदाउँदै मेरो देशमा ।।
अचम्म लाग्छ मलाई
उसको व्यवहारदेखि,
उसको बानीदेखि ,
उसको विचारदेखि
सुरुवात र अन्तिम भेटको
उसको स्वभाव
र ठाउँ पाएपछि एकाएक बिर्सिन्छ ।।
आफन्तको पाइलासम्म
रहन सकेन इतिहास
क्रान्ति नै गरी बनेको थियो
बर्षौपछि संविधान
त्यो कुटिल आत्माले कोरेको रहेछ
आतङ्क मच्चाएर बस्तीहरूमा
शान्ति लुटिएको बेला
आँखामा पट्टी बाँधेर
अचेल कता हराएको छ
बुद्ध बोकेको मेरो देश ।।
रुँदैछिन् नेपाली आमा
जल्दै शोकको सागरमा डुबेर
निचोर्दै पीडा र वेदनालाई
भन्दैछिन् अत्याचार किन गर्दछौ
तर आज
कुर्सीमा बस्नेहरू
शहिदले रङ्ग्याइदिएको इतिहासमा
पानाहरू पल्टाएर बिर्सिदैछ्न् ।।
त्यसैले फेरि षड्यन्त्र हुन सक्छ
गृहयुद्धले मैदान रङ्गिन सक्छ
शोषण र षडयन्त्रको विरुद्ध
मैदानमा उभिनु पर्न सक्छ
अनि रगत र पसिना चुस्ने
रुपियाँ र उडुसहरूको
एका-एक गर्दै अन्त्य हुन सक्छ ।
- सुदूरपश्चिम प्रदेश, बैतडी
हाल: काठमाडौं