Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

इलाममा न्यायाधीशको निवासमै अदालतकी कर्मचारीको हत्या, पक्राउ परे प्रहरीका असई

इलाममा न्यायाधीशको निवासमै अदालतकी कर्मचारीको हत्या, पक्राउ परे प्रहरीका असई

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७८
images
इलाममा न्यायाधीशको निवासमै अदालतकी कर्मचारीको हत्या, पक्राउ परे प्रहरीका असई


पक्राउ परेका असई बाँनिया।पक्राउ परेका असई बाँनिया।

 

(पत्रकार खिलानाथ ढकालको यो समाचार सेतोपाटी डटकमबाट साभार गरिएको हो। सम्पादक )

उच्च अदालत विराटनगरको इलाम इजलासका मुख्य न्यायाधीश शिवनारायण यादव बिदामा थिए। प्रहरीले उनी कहिलेदेखि बिदामा थिए भन्ने खुलाएको छैन।


यादव बिदामा भएको बेला सोमबार बिहान उनको निवासनजिकै अदालतमै कार्यालय सहयोगीको रूपमा कार्यरत् ४८ वर्षीया महिला बिमला पराजुलीको शव भेटिएको थियो।


प्रहरीका अनुसार पराजुलीको शव न्यायाधीश यादवको निवासनजिकै पानी बग्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।


कार्यालय पोशाकमै पराजुलीको शव फेला परेपछि प्रहरीले अन्दाज लगायो - यो पक्कै पनि कार्यालय समयभित्रै भएको घटना हुनुपर्छ।
त्यसपछि प्रहरीले घटनास्थल, त्यसको नजिकै रहेको अदालत र न्यायाधीशको निवासतर्फ अनुसन्धान थालेको थियो।


अनुसन्धान गर्दै जाँदा निवासको स्थिति अवलोकन गर्न प्रहरीले जरूरी ठान्यो। किनकी घटनास्थल वरपर न्यायाधीशको निवाससम्म केही संकेत देखिन्थ्यो।


यसपछि न्यायाधीश नभएका कारण निवास कसको निगरानीमा थियो भन्ने मुख्य प्रश्न उठ्यो।


उक्त प्रश्नको उत्तर खोज्ने सिलसिलामा न्यायाधीशका को बडिगार्ड को थिए भन्ने पत्ता लगाउन प्रहरीले आवश्यक थियो।


न्यायाधीशको बडिगार्ड आफ्नै कार्यालयबाट खटाइएका प्रहरी सहायक निरीक्षक (असई) युवराज बानियाँ रहेको खुल्यो।


यतिबेलासम्म घटनास्थलमा संघीय इकाइ प्रहरी कार्यालय धरानबाट कुकुरसहितको विशेषज्ञ टोलीले काम थालिसकेको थियो।
शंकाको घेरामा असई रहेपछि उनलाई प्रहरीले सोमबारै नियन्त्रणमा लियो।


इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार ३५ वर्षीय असई पराजुलीको साथमा न्यायाधीशको निवासको ताला थियो।


प्रहरीले असई पराजुलीकै हातबाट न्यायाधीश यादवको निवासको ढोका खोल्यो। निवासको ढोकामा पराजुलीको कानको एउटा टप फेला परेपछि असई पराजुली नै घटनामा संलग्न हुनसक्ने सम्भावना बलियो देखियो।


‘श्रीमान् (न्यायाधीश) नभएको बेला उहाँको निवासभित्र महिलाले लगाएको टप फेला परेपछि घटना निकै संवेदनशील थियो भन्ने हामीलाई लागेपछि असईलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यौं,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘असईको कोठाबाट महिलाले लगाएको सुनको सिक्री पनि बरामद भयो।’


निवासभित्रै घाँटी थिचेर हत्या, हत्यापछि घर फर्केका असई फेरि पुगे निवास


प्रहरीले असईमाथि अनुसन्धान सुरू गर्दा घटनामा उनीविरूद्ध प्रशस्तै प्रमाण देखिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। यसरी आफूविरूद्ध प्रमाण भेटिन थालेपछि अनुसन्धानको २४ घन्टा नबित्दै असई बानियाँले हत्या स्वीकार गरेपछि प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको श्रेष्ठले बताए।


प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना आइतबार कार्यालय समयपछि भएको खुलेको छ।


कार्यालय छुट्टी भएपछि असई बानियाँ इलाम बजारको आफ्नो कोठामा पुगेका थिए। त्यसैबेला बिमलाको फोन आयो।


बिमला अदालत परिसरमै रहेको करेसाबारीमा तरकारी टिपिरहेकी थिइन्। फोन गरेर बोलाएपछि अदालतको पछाडिबाट पर्खाल नाघेर असई बानियाँ करेसाबारी पुगेका थिए।


करेसाबारीमा के-कति गफ भयो, त्यसपछि उनीहरू दुबै न्यायाधीशको निवास छिरे। चाबी असई बानियाँसँगै भएकाले उनले न्यायाधीशको निवास खोलेर दुबै भित्र पसेका थिए।


‘निवासभित्र छिरेपछि दुबै बीच वादविवाद भएको र त्यसैबेला असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको खुलेको छ,’ पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने।


श्रेष्ठका अनुसार पराजुलीको हत्यापछि असई बानियाँ निवासभित्र शव छोडी ताला लगाएर आफ्नो कोठा निस्किए।


तर, जब कोठामा पुगे, न्यायाधीशको निवासभित्र छोडेको शव व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा बानियाँ पुगे।


‘तालाचाबी आफूसँग रहेकाले उनले पोल खुल्ने डरले राति नै शव व्यवस्थापन गर्नुपर्छ भन्ने लागेर राति श्रीमानको निवास पुगेको पत्ता लागेको छ,’ श्रेष्ठले भने।


निवास पुगेर राति नै उनले पराजुलीको शव निकालेर नजिकै रहेको पानी बग्ने ठाउँमा घोप्टो पारेर छोडिदिए।


‘ताकि आफैं लडेर पराजुलीको मृत्यु भयो भन्ने होस् भन्ने उनको बुझाइ रहेको हुनुपर्छ,’ प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्।


यसरी शव व्यवस्थापनपछि हिँडेका असई बानियाँ सोमबार पराजुलीको शव अनुसन्धान सुरू भएपछि पनि अदालत पुगेका थिए। तर, न्यायाधीशको निवासतर्फ प्रहरीको अनुसन्धान केन्द्रित भएपछि उनी नै पक्राउ परे।


निकटता र आर्थिक लेनदेन


प्रहरीका अनुसार मृतक कार्यालय सहयोगी पराजुली संखुवासभा जिल्लाकी हुन्। उनी कामको सिलसिलामा चार वर्ष पहिले इलाम पुगेकी थिइन्।
असई बानियाँ धनकुटाका हुन्। उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय इलाममातहत हो। बानियाँ दुई वर्षयता न्यायाधीश यादवको बडिगार्ड खटाइएका थिए।


‘श्रीमानकै अनुरोधमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकीमा कार्यरत् बानियाँलाई बडिगार्ड खटाइएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले सेतोपाटीसँग भने।


न्यायाधीशको बडिगार्ड भएपछि बानियाँ र पराजुलीको सम्बन्ध जोडिएको देखिएको ती अधिकृतले बताए।


‘जान-पहिचान, चिनजानको सम्बन्धनपछि उनीहरूबीच आर्थिक लेनदेन भएको बुझिएको छ,’ ती अधिकृतले भने।


एसपी श्रेष्ठले पनि उनीहरूबीच सम्बन्ध र लेनदेनको विषय हत्यासम्म पुगेको बताउँछन्।


‘के-कस्तो आर्थिक लेनदेन सम्बन्ध हो भन्नेबारे अनुसन्धान जारी रहेको छ,’ एसपी श्रेष्ठले, ‘हत्याको अन्य कारण हामी खोजिरहका छौं।’
प्रारम्भिक बयानमा स्वीकार गरेकाले असई बानियाँ नै यो घटनाका एक मात्र प्रतिवादी रहेको प्रहरीको निर्क्यौल छ।

यो समाचार पढेपछी तपाइको मनमा उठेको विचार कमेन्ट बक्समा गएर

एक लाईनमा लेख्नुहोस।


सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १९:०४:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend