काठमाडौं । आजसम्म कसैको सिन्धुर नपहिरेकी कलाकार दीपाश्री निरौलाले अभिनेता भुवन केसीलाई बुढा बनाएकी छिन् । दिपाश्रीले भूवनलाई ए बुढा ! भन्दै यसपालीको तीजका लागि रानी हार र आइफोन किन्दिन करसमेत गरेकी छिन् । तर, भुवनले उनलाई न त हार दिएका छन् न त आइफोन नै । भुवनले ‘सपनामा’ भन्दै टार्ने कोशिस गरेका छन् ।
भुवन र दीपाश्रीबीचको हार किन्ने र नकिनिदिने कुराले उनीहरुका फ्यानहरु पनि दंग परेका छन् । किन त ? भुवनसँग दीपाश्रीले पञ्चेवाजा नै बजाएर विहे गरेकी हुन् र ? कि उनीहरुले सुटुक्क विहे गरे ? दीपाश्रीले बुढा नै भनेपछि, हो कि त ! तर, कुरा अर्कै छ:– ‘सम्झिनी पानी छम्किनी ।’ यसैमा दीपाश्री मसक्कै, भुवन भए भुतुक्कै ।
हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर सम्राट चौलागाईं, रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको स्वरमा तीज गीतको भिडियो हालै सार्वजनिक भएको छ । सम्राट चौलागाईंको युटूव च्यानलबाट सार्वजनिक गरिएको ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको तीज गीत भिडियोमा अभिनेता भुवन र दीपाश्रीले प्रमुख अभिनय गरेका छन् ।
हास्यकलाकारको अभियनयबाट दर्शकबीच चर्चित दीपाश्री म्युजिक भिडियो र सिने जगतमा पनि चर्चित बन्दै गएकी छिन् । नेपाली सिने जगतमा एक समयका चर्चित अभिनेता भुवन भने झण्डै एक दशकपछि म्यूजिक भिडियोमा कमव्याक भएका हुन् । सम्झिनी पानी छम्किनी गीतको भिडियोमा भुवन र दीपाश्रीसँगै स्वस्तिमा खड्का, आकाश श्रेष्ठलगायतले अभिनय गरेका छन् ।