चुनावी माहौल थियो । गाउँ-गाउँमा जिन्दावाद र मुर्दावादका नारा गाउँलेहरू निरन्तर लगाइरहन्थे । गाउँमा कोही पनि तटस्थ थिएनन् । एक प्रकारको रोष र पक्ष-विपक्ष बीच विरोधी भावना सामान्य जसो मानिन्थ्यो ।
"खुशीयाली जीवन पो जीवन । पीडादायी जीवनबाट मुक्ति गर्नु नै मेरो प्रमुख उद्देश्य हो । " सवारी साधनबाट उत्रेर रमण राजले चुनावी अपिल गरे । सान्त्वना बाँडे । सपना देखाए ।
उनको विपक्षमा उभिएका विनय शर्माले पाँच वर्ष पहिलेदेखि मेहनत गरे । पीडा उठाए । जित्ने भोटर संख्याको सम्भवत आधा, नत्र एक तिहाई संगठित सदस्य बनाउनु पर्छ भन्ने उनको मान्यताले सार्थकता पायो । मान्यता अनुसार जनताको सुख-दु:खमा साथ दिए । जिते । अबीर यात्रा भयो ।
विपक्षको जीतमा शुभकामना दिएर झर्दा रमण राज चिप्लेर भर्याङ्गबाट खसे । खुट्टामा लामो किला बिज्यो । तत्कालै निकाल्ने प्रयास गरियो । सकिएन । जान्ने बुझ्नेले अपरेसन गर्न सल्लाह दिए । एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो ।
अस्पतालको बेडमा विनय शर्मालाई सुताइयो । माइनर अपरेसन हुनाले डाक्टरले आवश्यक ठाउँमा मात्र इन्जेक्शन लगाए । पूरा शरीर लट्याउनु पर्ने बाध्यता रहेन । अरू सहयोगीहरूले छुरा, ब्लेड, कैँची तथा धारिला सामानहरू लिएर आए । ती अौजारहरू देखेर विनय शर्मा काँप्न थाले ।
"चुनाव हारेको बेला छ । सरल उपचार विधि अपनाउन मिल्दैन डाक्टर साब ? " विनय शर्माले डाक्टरसँग प्रश्न गरे ।
काँपी रहेका विनय शर्मालाई बिश्वस्त पार्दै डाक्टरले भने, "चक्कु र ब्लेडले काट्दा पीडा हुन्छ र बाँच्नु हुन्छ । पीडा नहुने कुनै अपरेसन हुन्न । जीवनमा बाँच्न र जित्न चाहनु हुन्छ भने पीडा रोज्नुस् ।"
– हेलम्बु -६ सिन्धुपाल्चोक ।