काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउने बताउनुभएको छ ।
आइतवार बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा मेयर साहले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने आफ्नो चाहना रहेको बताउनुभएको हो । उहाँले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी उत्पादनमा जोड दिइने बताउनुभयो । त्यसका लागि आवश्यक रंगशाला सिसडोलमा बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।
महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्ने योजना पनि मेयर बालेनले सुनाउनुभयो । काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ।
महानगरभित्रका ए डिभिजन क्लवलाई महानगरले बार्षिक १० लाख दिदै आएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।