काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर 'हायर' गरेको आरोप लगाएकी छिन्।
सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै आरजु राणा देउवाले उक्त आरोप लगाएकी हुन्।
उनले भनेकी छिन्, "जति पनि स्वतन्त्र उम्मेदवारले जित्याछन् नि, उनीहरूले एउटा एउटा गुण पहिचान गरी नेता बनेका हुन् । बालेन शाहको कमेन्ट हेर्नु भो ? सोसल मिडिया रूटिन अफ नेपाल बन्द अहिले म ओपन्ली भन्न चाहन्न , उहाँले कतिमा हायर गर्नुभो ? त्यो पेजलाई उहाँले कन्सल्टेन्सीको रुपमा परिचालन गर्नुभो "।
उनले भनिन्, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा!’
सोही कार्यक्रममा फरक प्रसंगमा बोल्दै उनले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने बताइन्।