नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने सोंच बनाएका डाक्टर प्रणय राणाले अमेरिकामा रहेका साथीभाईसंग छलफल गरेका छन ।
अध्ययन र जागिरका शिलशिलामा लामो समय अमेरिका बसेका राणाले संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेद्वारी दिने योजना बनाएसंगै आफन्त र साथीभाईसंग छलफलमा छन । यहि क्रममा उनी अमेरिका आएका हुन् । प्रणयले अमेरिकाका केही राज्यहरुमा साना ठुला गरेर एक दर्जन भेटघाट र छलफलका कार्यक्रम गरेका थिए ।
दुई हप्ताको बसाई सकेर राणा सोमबार नेपाल फर्किएका छन । यो दुई हप्तामा उनले पुरै राजनीतिक छलफल गर्नुका साथै साथीभाईहरुबाट साथ, समर्थन र सहयोग जुटाउने कार्यक्रमहरु गरेको बुझिएको छ । उनलाई अमेरिकाका साथीहरुले पार्टीले टिकट नदिए स्वतन्त्र उमेद्वारी दिन सुझाब समेत दिएको बुझिएको छ ।
नेपाली सेनामा कार्यरत राणा जागिरकै शिलशिलामा हाईटि र अमेरिकामा आएर नेपाली सेनाको शान राखेका थिए । उनी नेपालको शसस्त्र द्वन्दका बेला नेपाली सेनाको अब्बल अधिकृतका रुपमा ख्याती कमाएका व्यक्ति पनि हुन ।
उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका राणालाई अध्ययन पश्चात यहि राम्रा अवसरहरु आए । राष्ट्रपती बराक ओबामाको बहुचर्चित 'ओबामा हेल्थ केयर' को डिजाईनिगं टिममा रहेर काम गरेको अनुभव रहेका राणालाई कोरोना पेण्डामिकका बेला अमेरिकी सरकारले सेन्टर्स फर डिजिज कन्ट्रोल(सिडिसी) मा महत्वपूर्ण जिम्मेवारी दिएको थियो ।
केही समय सिडिसीमा काम गरेपछि राणाले 'मेरो आवश्यकता देशलाई छ' भन्ने सोचेर कोरोना कहरका बेला सधैका लागि नेपाल फर्किएको बताउछन ।
पढाईमा अब्बल, सेनामा बसेर अनुशासन सिकेका र देश विदेश घुमेर ज्ञान र सीप हासिल गरेको हुदा उनी देशका लागि अति नै आवश्यक यूवा भएको उनका साथीहरु बताउंछन ।
अमेरिकाका झण्डै आधा दर्जन स्टेटका उनका साथीभाईहरुले उनलाई जिताउन जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि नेप्लिज डायस्पोरालाई बताए ।
राणाले नेपाल फर्कने बेलामा आफ्नो फेसबुक टाईम लाईनमा यस्तो लेखेका छन:
"अमेरिकाको अत्यन्तै फलदायी २ हप्ताको भ्रमण पछि म आज नेपाल फर्कदै छु। निमन्त्रणाको लागि विभिन्न राज्यहरूमा रहेका नेपाली डायस्पोरा समुदायहरूलाई धन्यवाद। म माफी चाहन्छु कि म मेरो बसाइको अवधिको कारणले धेरै राज्यहरूमा प्रतक्ष रूपमा उपस्थित हुन वा मेरा धेरै डायस्पोरा साथीहरूलाई सम्पर्क गर्न सकिन। अन्तरक्रिया कार्यक्रमहरूमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न हुनुहुने र व्यक्तिगत रूपमा मलाई फोन, सामाजिक संजालबाट सम्पर्क गर्नुहुने सबैलाई धेरै-धेरै धन्यवाद। तपाईंको माया, सहयोग र समर्थनले मेरो मनोबल एकदमै बढाएको छ। फ्लोरिडा, टेनेसी, मेरिल्याण्ड, सान फ़्रसिस्को लगायतका राज्यहरुमा भर्चुअल कार्यक्रमको योजना रहेको छ । त्यहिं भेट्ने बाचा गर्दै अहिलेलाई बिदा माग्छु, फेरी भेटौंला।"


