समय- चित्रकारले
आफ्नो भौतिक उपस्थिति र मूर्तताको निम्ति
जीवन- ऐनाको सुन्दर चित्र बनाउँछ
प्राणको रङ्ग भर्छ र ऊर्जाले सजाउँछ
चित्र हेर्छ-
आफ्नै प्रतिबिम्बमा डरलाग्दो कुरुप भाव देख्छ
र, खसाल्छ आफ्नो हातबाट जिन्दगी- ऐनालाई!
टल्किने आँसुका ढिक्का छोड्दै
झर्यामझुरुम हुन्छ जिन्दगी-ऐना
पुनः नयाँ जिन्दगी- ऐनाको चित्र बनाउँछ
आफ्नै प्रतिबिम्बको भाव पढ्छ र डराउँछ
अचानक हातबाट जिन्दगी - ऐना खसाउँछ
कस्तो निर्दयी रहेछ समय- चित्रकार
आफ्नै चित्रलाई रुवाउँछ
सोच्छु- आफ्नो कुनै सिर्जनाबाट सन्तुष्ट भएर
समय- चित्रकारले जीवन -चित्र कोर्नै छोडिदियो भने
अस्तित्व - कागजका पाना कतै खाली रहने हुन् कि?
जीवन -सिर्जना र कलाका कथा यत्तिमै मेटिने हुन् कि?
प्रार्थना गर्छु-
समय- चित्रकारको हातबाट
बरु नित्य जीवन- ऐना खसिरहोस्,
झर्यामझुरुम फुटिरहोस्
तर, यसले जीवन- चित्र कोर्न कहिल्यै नछोडोस्
जीवन-चित्रमा प्राणको रंग र ऊर्जा भर्न कहिल्यै नछोडोस्।
०७९/१०/६ रातको १२: १८