उनेर रहरका मालाहरू
बोकेर सपनाका झोंकाहरू
फुकाएर कहरका गाँठाहरू
भान्सादेखि भान्सासम्म उड्दैछन्
मालचरीहरू
छाडेर दुई चुल्ठी बाट्न
बिर्सेर फुर्के डोरीले केश सजाउन
पर्दैन घाँसका भारी बनाउन
पर्दैन पानीका गाग्री बोक्न
घरदेश छाडेर परदेश लाग्दैछन्
मालचरीहरू
'कुचो नाघ्न हुन्न अलच्छिन लाग्छ'
भन्ने हजुरआमाहरू
'भाँडा बजाउन हुँदैन सह उड्छ' भन्ने बराजुहरू
'छोरीले घरको संघार नाँघ्नु हुँदैन'
भन्ने बुवाहरूलाई देखाएर
समुन्द्र नाघेर हिमाल हेर्दैछ्न्
मालचरीहरू
समय फेरियो या समस्याले थिच्यो तिमीलाई
बन्धन तोडियो या आंकाक्षाको बाटोले मोड्यो तिमीलाई
आवश्यकता बन्यो या बाध्यताले लघार्यो
जीवनको काँचुली फेर्न उड्दैछन्
मालचरीहरू
पहिले
पस्केको भातको थाल छोडेर भाग्थ्यो पल्टनमा छोरो
छातीमा सङ्गिन रोपेर हार्थे युद्धमा लाहुरे
अहिले
आकाश ढाकेर
घरको चुल्होदेखि परदेशको भान्सासम्म
उड्दैछन् मालचरीहरू !!
- तानसेन न. पा. - ७ पाल्पा ।
२०७९ चैत्र २२