कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएकी २२ वर्षीया अन्जिता भण्डारीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलस्थित रहेको पोखरा क्यानोनमा क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु भएको हो ।
मेरिल्याण्डको एक युनिभर्सिटीबाट कम्प्युटर साईन्समा ब्याचलर सकेर छुट्टि मनाउन नेपाल गएकी अन्जिता क्यानोनिङ गर्नेक्रममा १ सय ४० फिट माथीबाट लडेकी थिईन ।
अन्जिता बाबु आमा दिदी र भाईसंग केही बर्षदेखि अमेरिकामा बस्दै आएकी थिईन । उनका बुबा तिर्थ भण्डारी बाल्टिमोरमा सक्रिय व्यक्तित्व हुन । उनीहरुको घर पोखरा महानगर-२६ बुढी बजारमा छ । सोही पुर्ख्यौली घरमा छुट्टि बिताउन अन्जिता र उनकी दिदी गएका थिए ।
साउन १० गते करिब ३:५० बजे झरनाबाट झर्ने क्रममा अचानक लडेर घाइते भएकी भण्डारीलाई उपचारका लागि माणिपाल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बुधबार ४:५० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
अन्जिताको दुर्घटनाको खबर पाएपछि अमेरिकामा रहेका बुबा आमालाई नेपाल गईसकेका छन् ।
यतिबेला नेपाल र अमेरिकामा रहेका अन्जिताका साथीभाई, आफन्त र उनलाई चिन्नेहरु भावविह्वल छन् ।
"पढाईसंगै घरायसी र सामाजिक काममा रुची राख्ने अन्जिताको दुखद निधनलाई हामीले पत्याउनै सकिरहेका छैनौं । सार्है पीडाबोध भईरहेको छ ।" अमेरिकामा रहेका पारिवारिक सदस्य दिपेन्द्र पोखरेलले भने ।
"दुई बर्ष पहिला, एनआरएनएको सदस्यता अभियानका क्रममा हामी तीर्थजीको घर पुगेका थियौं । अन्जिता र उनकी दिदीले यो अभियानका बारेमा धेरै प्रश्न गरेको र भबिष्यमा यो अभियानमा लाग्छौं भनेको कुरा झल्झली आईरहेको छ ।" घटना सुनेपछि चिन्तित बनेका एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले भने ।
अन्जिताको आत्मालाई शान्ति मिलोस, भावपूर्ण श्रद्धान्जली !