Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

परदेशिएको छोरो -गम बयम्बु

परदेशिएको छोरो -गम बयम्बु

नेप्लिज डायस्पोरा

१६, श्रावण २०८०
images
परदेशिएको छोरो -गम बयम्बु

 

माकुराहरूले
जाल बुने जस्तै
सपनाहरू बुनेर
उडेको छ एक परदेशी
क्षितीज पार गर्दै
बिरानो त्यो बस्तीतिर
भाग्यको खोजीमा

आमाले
ओछ्यानमै चिया ल्याईदिँदा
उठ्न नसक्ने छोरो
भालेको आलर्म संगै उठ्ने भएको छ
निन्द्रा संग मुकाबिला गर्दै

बाले बारी जोत्दा
अनौ समाउन पालो माग्दा नमान्ने छोरो
जोतिएको छ दैनिक सत्र अठार घण्टा

भुटेको मकै र अमिलो मोही पाउँदा
नाक खुम्च्याउने छोरो
खब्बुस रोटी चबाउँदै
तातो पानीले प्यास मेटाउन विवश छ

कालो हाँडीमा मकै भुट्नु पर्दा
गर्मी सहन सकिनं भन्ने छोरो
पचास डिग्री तापक्रमको बेपर्बाह खटिरहेछ
भुङ्ग्रोमा परेको माछा जस्तै

बेचेका छन् निद, सपना किन्न
लिलामी गराएका छन् रहरहरू
बाँधेका छन् उडिरहने मनहरू
थुनेका छन् लोभिने नजरहरू

गाँसेका छन् मितेरी
दु:ख, कहर, संघर्ष, चोट, पीडा र वेदना सित
सहनु परेको छ जिन्दगीमा
दमन, दबाव र चरम अभावहरू

एक दिन-
फर्किन त उ फर्किने नै छ
तर अनविज्ञ छ
सुनौलो भाग्य चम्काएर
या
चीर निन्द्रामा
बरफ ओढेर काठको बाकसमा!
**

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ००:३६:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend