गरिबीको झाँतोले पिल्सिएर शिर झुकाउनु परेको छ ।
पहेँला बत्तीस दन्त अरू सामु ङिँच्च देखाउनु परेको छ ।।
दुर्गम पहाडी, हिमाली भेग दुःखको बास छ ।
गरिबलाई गास, बास र कपासको अभाव छ ।
टिनको छानो थोत्रिएर चुहिने भएको छ ।
भोको पेट सारङ्गी जस्तै खोक्रिएको छ ।।
च्यातिएको वस्त्रले आङ्ग उदाङ्गिएको छ ।
हेमन्त ऋतुमा ज्यान कठ्याङ्ग्रिएको छ ।।
हरेक वर्ष साहुको ऋण थपिदै गएको छ ।
एक छाक मिठो खान नपाउँदा मन रोएको छ ।।
टाठा बाठा धनी साहुको सधै रवाफ छ ।
सान मान ठाँट बाठको सधै आवाद छ ।।
अन्नबारी जति कङ्क्रिटको खेती भएको छ ।
उद्योग कलकारखाना सबै बन्द भएको छ ।।
देश रेमिट्यान्स भित्र्याउन रमाएको छ ।
देशका युवा शक्ति पलायन गराएको छ ।।
प्रियसीको न्यानो अङ्गालो छुटेको छ ।
प्युसा प्युसीको प्रेमील हृदय टुटेको छ ।।
बा-आमाको मायालु काख रित्याएको छ ।
धन कमाउन भनी परदेशमा हाड घोटेको छ ।
डग्मगाउँछ पाइला जानु पर्दा खाडी देश ।
थाहा छैन फर्की आउने गएपछि अर्का देश ।।
- कोलोराडो, अमेरिका ।