Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अन्तिम युद्ध (कविता) - रोशन तिमिल्सिना

अन्तिम युद्ध (कविता) - रोशन तिमिल्सिना

नेप्लिज डायस्पोरा

२, भाद्र २०८०
images
अन्तिम युद्ध (कविता)  - रोशन तिमिल्सिना

समाजको ढाडमा विभेद चढेदेखि
असमानताको आलो घाउ
वर्षौंदेखि उस्तै छ -काँंचो घामजस्तो ।

पहाड बोकेर पाठेघरमा
आमाहरूले देखेका सपना
बाध्यताले पोतिदिएर फिक्का छन्
जो अन्धविश्वासका काला रेखाहरूबाट
पोखिन चाहन्छन् कुनै रङ्गिन इन्द्रेणीमा ।

अपहेलनाको कुरुप बिम्ब भएर
सडकमा छोडिएका सुन्दर फूल
चाहन्छन् सिउरिन पाऊँ कसैको शिरमा
जो सडकको धुलोमा
भोको पेट र अन्धकार दैनिकी साटिरहेछन् ।

नुनिलो आँसु पिएर
-अमिलो पसिनाको गन्ध बोकेर
जिन्दगीभर सौखिन जिब्राहरूलाई
गुलियो बनाइरहेछन् उखु किसान
जो कैयौंपटक
पसिनाको मुल्य र जिन्दगीको
बराबरी समीकरण खोजिरहेछन् ।

आजीवन देशलाई छातीमा राखेर
एउटा कविले अन्तिम गाँसको लागि ।

राखिरहेछ सडकको छातीमाथि
छरपस्ट कविता ग्राहकको प्रतीक्षामा

आऊ ! अन्तिम युद्ध गरौं
विभेदको जरा उखेलेर
ढलाइदिऊँ यो सभ्यताको चिन्ह
कोरिदिऊँ सहरका भित्ताहरूमा
चेतना, मानवता, नैतिकताका चित्र

आऊ !
आमाका सपनाहरूलाई
पौडिन दिऊँ विशाल हृदयका मस्तिष्कहरूमा
डुबुल्की मार्न दिऊँ -बुझाइको सागरमा
जो समानताका छाल बोकेर पुग्नेछ्न्
परिवर्तनको तिर खोजिरहने समाजमा

सडकमा फूलेका सुन्दर फूलहरूलाई
हुर्किन दिऊँ हाम्रै सामीप्यमा
जो अन्धकार जिन्दगीलाई चिरेर
पुग्नेछन् सडकको परिधिभन्दा बाहिर
बन्नेछन् -परिवर्तन र संघर्षका बिम्ब

हातहतियार नबोकी अन्तिम युद्धमा
क्रान्तिले लेखेर किसानका नारा
-खोजेर उज्याला सम्भावनाका खेती
खुसी हुर्किन दिऊँ किसानका अनुहारमा

कुनै कला नलुकोस् भिडभन्दा पर
शब्दहरूले गर्न नपरोस्
बुढेसकालमा कुनै पश्चतापको युद्ध
आऊ ! अन्तिम पटक मीठो लडाइ गरौं ।

तयार भएर एकएक काँध
बोक्नुछ यो देशलाई समृद्धिको राजमार्गमा
आऊ ! अन्तिम पटक चेतनाको मुस्लो बोकेर
ताकी हरेक युद्धको अन्त्य यसै युद्धमा हुनेछ ।

- पोखरा ।
(सकारात्मक सोच विषयमा गण्डकी प्रदेश स्तरिय कविता प्रतियोगितामा प्रथमस्थान प्राप्त कविता)

images
प्रकाशित मिति :भाद्र २, २०८० शनिवार - ०९:४१:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend