रुकुम स्यालापाखाका ५२ वर्षीय हस्त गौतम सामान्य तरिकाले हिँडडुल गर्न ह्विलचियरको सहारा चाहिन्छ ।
लामो समयदेखि उनी ह्विलचियरकै भरमा चलिरहेका छन । हेर्दा चिटिक्क देखिने हस्तको अर्को कला हो उनको बोलीबचन ।
हस्तलाई पुलिसले रूपन्देहीबाट पक्राउ गरेको जनाएको छ । उनीविरुद्ध प्रलोभन देखाउँदै अमेरिका पुर्याउने भन्दै भारत, दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायतका देशमा सयौँ युवाहरूलाई बन्धक बनाएर ठूलो रकम असुल गरेको आरोपमा उजुरी परेको हो । उनी २००५ देखि नै मानव तस्करीमा लागेको बताईएको छ।
सन् २००५ मा पारा ओलम्पिकका लागि अमेरिका पुगेका हस्तले २००८ मा ग्रिनकार्ड र २०१५ मा अमेरिकी नागरिता लिएको खुलेको छ । उनले अमेरिका र मेक्सिकोमा रहेर नेपालमा एजेन्ट राखी धन्दा गरेको पुलिसको भनाई छ । उनी अमेरिकामै बसेर ११ देखि ६५ लाखसम्म असुल गर्ने गिरोहको मुख्य नाइके भएको दाबी प्रहरीले गरेको छ ।
अमेरिका गएका गौतमले अमेरिकाकै ग्रिन कार्ड र राहदानीसमेत लिइसकेका छन् । अमेरिकाको राहदानी लिएका उनले मेक्सिकोका गिरोहसँग मिलेर मानव तस्करी गर्दै आएको खुलेको हो ।
यसअघि उनीसॅंग काम गर्ने उनका नेपालका एजेन्ट पोखराका कमल तामाङसहित दुईजना पक्राउ परिसकेका छन् । उनीहरूले पाँचजनाबाट दुई करोड रुपैयाँ उठाएर विभिन्न देशमा बन्धक बनाएको खुलेको छ । उनीहरूबाहेक १३ जना नेपाली अझै जाम्बियामा उनको समूहले बन्धक छन् । उनीहरूको उद्धार गर्ने प्रयास भईरहेको छ । प्रारम्भिक बयान हस्तले २०० नेपालीलाई अवैध बाटो हुँदै अमेरिका पुर्याएको स्वीकारेका छन् ।
कसरी परे प्रहरीको फन्दामा
सन् २००५ देखि नै प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा हस्त गौतमविरुद्ध उजुरी परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लामो समयदेखि खोजिरहेको थियो ।
२००५ देखि नै उनी नेपाल आउन छाडेका थिए । केही दिनअघि उनी फेरि नेपालीलाई अमेरिका लिने उद्देश्यले भारतीय हुँदै स्थलमार्ग प्रयोग गरेर रुकुम पुग्न खोजेका थिए ।
पछिल्लोपटक उनी अमेरिका हुँदै मेक्सिको र त्यहाँबाट दिल्ली आएका थिए । त्रिभुवन विमानस्थल बाटो प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने भयले उनले भारत हुँदै स्थलमार्ग रोजेका थिए । भारत पुगेको सूचना पाएको ब्युरोको टोली उनको खोजीका लागि दिल्ली नै पुग्यो ।
तर, प्रहरी दिल्ली पुग्दा उनी भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा प्रहरीले उनलाइ बेलहिया नाकाबाट पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले हस्त गौतमसहित पक्राउ परेको समूहमाथि संगठित मानव तस्करी मुद्दामा अनुसन्धान थालेको छ ।