अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आइतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो ।
गोर्खालीहरुले मलाय युद्धमा सफलता हासिल गरेको साहसिक कथामा निर्मित यो चलिचत्र हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिट्ठी बजेको थियो । प्रिमियरमा शोमा अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जना अतिथिले हेरेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।
निर्माता निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक तथा बरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘शरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन इम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाइनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।