संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङको असामयिक निधनले सबैलाई मर्माहित बनाएको छ । गएराति हृदयघातबाट भएको निधनले उनको परिवारसँग सबै पार्टीका नेताहरुलाई पनि आश्चार्यमा पारेको छ । उनको निधनप्रति समवेदना दिनेहरु उतिकै छन ।
नेम्बाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न पार्टीका प्रमुखहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यमसँग कुरा गर्दा आफु निकै मर्माहित भएको प्रतिक्रिया दिएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपतिले शोकाकुल परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जाल एक्समा लेखिएको छ, "सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ। दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।"
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन् ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् । नेम्बाङको पार्थिव शरिरलाई २ दिन पार्टी कार्यालयमा राखिनेछ ।