रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत् प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद-६ महिना वर्षायाम हुनेगरी टेक और पे मोडलमा पीपीए हस्ताक्षर भएको हो ।
आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत् प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आयोजनाले उत्पादन गरेको विद्युत् हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको छ ।
लगानी गर्नेमा मलेसियामा बसेर विभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एवं सफल ब्यावसायी आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष एवं कतारका सफल युवा व्यावसायी राज रेग्मी, युवा ब्यावसायी नविन कँडेल, युवा व्यावसायी रविन गुरुङसहित व्यवसायी सरोज धिताल समेत रहेका छन् ।
४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२.५ रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्नेगरी बन्नेछ ।
आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ ।आयोजनासम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।