बुबा हुनुहुन्थ्यो
र पो सबथोक थियो।
हावा चल्थ्यो शीतल दिन्थ्यो
धर्तीको मैलो पखाल्दै
चराहरुलाई तिर्खा मेट्न झरि पर्थ्यो।
घाम समयमै झुल्कन्थ्यो।
र त सबथोक लयमा चलेको थियो।
बुबाले ताते गर्न सिकाएका खुट्टाहरु टेकेर
आज म यहाँसम्म आइपुगेकी छु
हातका औँला दिएर
पाखुरा बलियो बनाउँन सिकाउँनुभो
र आज आफ्नै पसिनामा बाँच्न सकेकी छु
कर्मले उज्यालो पढाउँनुभो
र त जिन्दगी जिन्दगीजस्तो थियो।
बुबा दिनहुुँ कामका खातिर
घरबाहिर जानुहुन्थ्यो
चराले गुंड र बचेरा सम्झेर साँझ साविक फर्के झैँ
साँझ नभुली घर फर्कनुहुन्थ्यो
र पो घर घरजस्तो थियो।
एक दिन उसैगरि बुबा जानुभो
ठेगाना नभनिकन हामीलाई
त्यसपछि कहिल्यै फर्कनुभएन।
बुबा गएपछि हावा एकाएक तातो बह्यो
घाम झुल्कनै बिर्से झैँ
लामो समय धरती अँध्यारो भयो
अहिले पनि कहाँ उज्यालो छ र।
त्यसपछि छुट्नै नहुने वस्तु छुटेजस्तो
जीवनको एक पाटो छोडिएर हराएजस्तो
सबैभन्दा ठूलो त जीवनको लय हरायो।
म सोच्थें,
उसबेला अगेंनाको डिलमा बसेर
किन बुबा सधैं ढुङ्ग्रीले आगो फुक्नुहुन्छ?
पछि थाहा पाएं
र पो सास फेर्न सजिलो रहेछ
आजभोली सास फेर्न बहुत कठिन छ।
बुबाले छोडेपछि
परेवाले घरको गुँड छोडे
न भाले बास्ने बिहान
न झ्याँकिरी गाउँने साँझ
न आँगनमा जुन ओर्लन्छ
घरीघरी पृथ्वी घुम्न विर्सन्छ
आकाशविनाको नाङ्गो घर्ती जस्तै
छानों विनाको घर झैँ वेचयन छु।
बुबाभित्र सिङ्गै मन्दिर थियो
भगवानहरु बस्ने
मेरो भगवानसँग ज्ञानको अग्लो उचाई थियो
बुझ्नैपर्ने धेरै कुरा नबुझेर
पढ्नै पर्ने पुस्तक नपढेर
यहाँसम्म आइपुगेछु
ठूलो कुरा त
बुबाले मलाई मैले जानेदिखि नै बुझ्नु भो
जब मैले बुबालाई अलिअलि बुझ्नथालें
बुबा मसँग हुनुहुन्न
अर्थात् मेरो भगवान मसँग छैन।