प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछन । महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गर्न लागेका हुन । त्यसपछि प्रचण्ड अमेरिकाबाट असोज ५ गते चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तर अमेरिका भ्रमणका बेला प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग भेट गर्न पाउने नपाउने बारे भने केहि तय भएको छैन । तर उनी महासभामा सहभागी हुने प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा भने सहभागि हुनेछन्प । सो कार्यक्रम असोज २ गते हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो । गत वर्ष यो महासभामा परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए । त्यसअघिको बर्ष तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद नेतृत्वको एउटा प्रतिनिधिमण्डल भने यसअघि नै न्युयोर्क पुगिसकेको छ ।
न्युयोर्कमा रहँदा प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यो साइडलाइनमा हुने महत्वपूर्ण कार्यक्रम हो । प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ । तर, परराष्ट्रले उनको चीन भ्रमणबारे अहिलेसम्म जानकारी दिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई एसियन गेममा सहभागी हुन चीन सरकारले निमन्त्रणा पठाएको थियो । यही निमन्त्रणामा सहभागी हुने क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङलगायतसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
एशियाडमा सहभागि हुने नेपाली टिमको बिदाई कार्यक्रममा पनि प्रचण्डले खेलका बेला सँगै हुने बताएका थिए ।