Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेप्लिज डायस्पोरा

३०, भाद्र २०८०
images
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बारा, ३० भदौ : कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् ।

सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा तीन सय ८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कारागारमा किचन, बरन्डा, भ¥याङमा समेत कैदीबन्दीलाई राखिएको छ ।

शौचालय जानदेखि नुहाउनसमेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गर्नुभयो । “कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महिनाको गर्भवती हुनुहुन्छ उहाँलाई झनै कठिनाइको सामना गर्नुपरेको छ”, कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भन्नुभयो । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काट्न निकै अप्ठ्यारोको सामना गर्नुपर्ने चौकीदार मनोजकुमार बैठाले सुनाउनुभयो । जुनसुकैबेला जीर्ण भवन भत्किने सम्भावना रहेकाले त्रासमा रात बिताउने गरेको उहाँको भनाइ थियो ।

“भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नुजस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्”, कारागार प्रमुख शाहले भन्नुभयो, “हामीले मातहतका माथिल्लो निकायमा उनीहरुको पीडाका बारेमा जानकारी गराएका छौँ ।”

कारागारको चारैतिरको पर्खाल जीर्ण भएको, ठाउँठाउँमा चर्कोको, बाङ्गो भएकाले भवन भत्कने सम्भावना उत्तिकै रहेको भन्दै तत्कल पर्खालको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।

दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताउनुभयो । पर्खाल ठूलो नहुनुले पनि जोखिमको समना गर्नुपर्ने उहाँको भनाइ थियो ।

“भेटघाट कक्ष र फोन गर्ने ठाउँ साँघुरो छ । ढल निकासाको उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ । ढलको निकास, भेटघाट र फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहे पनि बजेट अभावका कारण गर्न सकिएको छैन”, जेलर शाहले भन्नुभयो । सडकको सतह र जेलको कम्पाउन्डको उचाइ उस्तैउस्तै भएकाले कहिलेकाँही कैदीले हाम फालेर भाग्ने कोसिस समेत गर्ने गरेका उहाँले बताउनुभयो ।

बाँकेमा कारागार निर्माण भइसकेको, नुवाकोटमा निमार्णाधीन अवस्थामा रहेकाले ती कारागार निर्माण सम्पन्न भएपछि क्षमताभन्दा बढी कैदी रहेका ठाउँका कैदीलाई सारिने गृह मन्त्रलयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसीरहेका भए पनि त्यसलाई पुनःनिर्माण गर्ने कामको थालिएको उहाँले बताउनुभयो । “आफूलाई सहज हुने ठाउँ कैदीले रोज्ने, बाहिर जान नमान्नेलगायत कारणले पनि गौर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको हो”, प्रवक्ता शर्माले भन्नुभयो ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - १६:०९:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend