Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी

संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी

नेप्लिज डायस्पोरा

३, आश्विन २०८०
images
संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताउनुभएको हो ।

“हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”

समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।

नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताउनुभएको छ । “सामाजिक सद्भाव र सहिष्णुता बिथोल्ने, नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने र राष्ट्रलाई कमजोर बनाउने अवाञ्छित प्रयाससमेत हुन सक्दछ ।

यस्ता संवेदनशील विषयमा गम्भीर चिन्तन र आत्मसमीक्षा गर्दै विगतका कमीकमजोरीमा सुधार गर्ने तथा आगामी दिनमा नयाँ कार्ययोजनासहित राष्ट्रलाई जनताको सपनासँग जोड्ने कार्यमा लाग्न हामी सबैलाई संविधान दिवसले अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०६:४३:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend