अमेरिकाको बाल्टिमोरमा अक्टोबरमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन । अक्टोबर पहिलो दिन देखि अन्तिमसम्मा गरेर तीन चलचित्र प्रदर्शन हुने भएका छन ।
एभरेष्ट इन्टरटेन्मेन्ट अमेरिकाले प्रदर्शन गर्न लागेको चलचित्रमा प्रशाद २, नांगो गाउँ र भष्मे डन पशुपतिप्रशाद रहेका छन । संस्थाका अनुसार अक्टोबर एक तारिखमा प्रशाद २ प्रदर्शन गरिने भएको छ । यो चलचित्र प्रशादको सिक्वेल हो । जसमा बिपिन कार्की र केकी अधिकारी तथा अर्पण थापा मुख्य भुमिकामा छन ।
अक्टोबर ८ र ९ मा नांगो गाउँ प्रदर्शन गरिनेछ । यो चलचित्र अहिले नेपाली सिनेमा हलहरुमा पनि राम्रो प्रदर्शन भइरहेको छ । यो चलचित्र एक राजनितीमा आधारित रहेको छ भने यसमा दयाहाङ राई, मेरुना मगर र साम्रागी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ ।
यस्तै अक्टोबर २२, २३ र २९ मा बिपिन कार्की अभिनीत भष्मे डन प्रदर्शन हुनेछ । यो चलचित्र पशुपतिप्रसादको दोस्रो भागका रुपमा रहेको छ । पशुपतिप्रसादमा भष्मे डनको पात्रलाई दर्शकले धेरै मनपराएका कारण सोहि टिमले सिक्वेलका रुपमा यो चलचित्र निर्माण गरेका हुन ।
यसका साथै नोभेम्बर महिनामा निश्चल बस्नेतको निर्देशनमा बनेको दिमाग खराब प्रदर्शन गरिनेछ । यसको प्रदर्शन मिती भने तोकिएको छैन । लामो समयपछि निर्देशकका रुपमा फर्किएका निश्चलको यो चलचित्रबाट नेपाली दर्शकले धेरै आशा गरेका छन । यो चलचित्रमा स्वेता खड्काको पनि भूमीका रहेको छ । यो चलचित्र नेपाली सिनेमा हलमा कार्तिक २४ अर्थात नोभेम्बर १० मा रिलिज हुँदैछ ।