आन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार बिहान ९ बजे वार्ता गर्ने सहमति भएको हो।
बिहीबार दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। पहिलो चरणमा बिहान गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच वार्ता भएको थियो।
त्यतिखेर आन्दोलनलाई कसरी संयमित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। बिहीबार साँझ नै फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ र महासङ्घका पदाधिकारीबिच वार्ता भएको थियो।
छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताएका थिए।शिक्षकका विषय सरकारका तर्फबाट टुङ्ग्याउन पहल हुने र त्यो शिक्षक प्रतिनिधिहरूमा निर्भर हुने पनि बताएका थिए । महासङ्घका प्रतिनिधिले शिक्षा विधेयकमा समावेश गर्नुपर्ने भनेर उठाएका १७ बुँदे माग प्रस्तुत गरेका थिए। साँझ ७ बजेदेखि भएको छलफल साढे नौ बजेसम्म चलेको थियो।
आफूहरूको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने महासङ्घले अडान राखेपछि सरकारका तर्फबाट आन्तरिक छलफल गर्ने र शुक्रबार बिहान फेरि बस्ने सहमति भएको वार्तामा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले बताए।
शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेपछि अमेरिकामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबिच कुराकानी भएको थियो। उक्त कुराकानीमा शिक्षकसँग वार्ता गरेर टुङ्ग्याउने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिने सहमति भएको खड्काले बिहीबार नै सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी गराएका थिए।
मुलुकभरका विद्यालयमा पढाइ बन्द गरेर राजधानी आएका शिक्षक नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबारदेखि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा धर्ना दिइरहेका छन्। आफूहरूको माग पूरा गर्ने सम्बन्धमा विगतमा भएको सहमतिविपरीत विधेयक ल्याइएको आरोप आन्दोलनरत पक्षले लगाएको छ। यस पटक भने आफूहरूको माग पूरा गराएर मात्रै विद्यालय फर्कने अडानमा उनीहरू छन्।
उनीहरूले बिहीबार पनि माइतीघरबाट र्याली सुरु गरी नयाँ बानेश्वर पुगेर फेरि माइतीघरमै फर्केर टुङ्ग्याएका थिए।