Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हेलो सरकारमा उजुरी गर्नेको संख्या तेब्बर बढे

हेलो सरकारमा उजुरी गर्नेको संख्या तेब्बर बढे

नेप्लिज डायस्पोरा

५, आश्विन २०८०
images
हेलो सरकारमा उजुरी गर्नेको संख्या तेब्बर बढे

हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि उजुरी पर्ने संख्या तेब्बरले वृद्धि भएका छन्। आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सुशासन महाशाखाका प्रमुख सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकार चौबिसै घण्टा सञ्चालनमा आएसँगै गुनासो तेब्बरले बढेको बताए। उपाध्यायका अनुसार दैनिक औसत ५० टेलिफोन र ४० वटा सामाजिक सञ्चार माध्यमबाट गुनासो आउने गरेकोमा पछिल्लो समय औसत १५० टेलिफोन र १२० वटा सामाजिक सञ्चारबाट गुनासो आउन थालेको छ। हेलो सरकार चौबिसै घण्टा सुरु भएको पछिल्लो १७ दिनमा मात्र दुई हजार ६५० वटा गुनासो टेलिफोनबाट दर्ता भएका छन्।

सोही अवधिमा फेसबुक, इमो, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालबाट थप एक हजार ८०८ गुनासो दर्ता भएका छन्। महाशाखाले यसरी आएका गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएको छ। 

हेलो सरकारमा सबैभन्दा बढी गुनासो त्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डबाट प्रदान गर्ने समकक्षता पाउन झेल्नु परेको झन्झट, लोडसेडिङ अन्त्य भए पनि बत्ती जाने समस्या, व्यक्तिगत लेनदेनबाट हुने ठगी, वैदेशिक रोजगारीका नाममा ठगी भएका गुनासा बढी रहेको महाशाखाले जनाएको छ।

त्यसै गरी अनलाइनमार्फत हुने ठगी, बैङ्किङ कसुर, सहकारी ठगीका गुनासा पछिल्लो समय ह्वात्तै बढेका छन्। शिक्षा तथा निजामती विधेयकबारेका गुनासो, सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, विकास निर्माण मापदण्ड पूरा नभएका गुनासा बढेका छन्। सरकारले सुरु गरेको स्वास्थ्य बिमाबाट स्वास्थ्य सेवा र भुक्तानी नपाएको, नागरिकता पाउन बेहोर्नुपर्ने झन्झट, सरकारी कार्यालयमा फोन नउठ्ने गुनासो हेलो सरकारमा बढ्न थालेको पाइएको छ। त्यसै गरी अदालतबाट भएका फैसला कार्यान्वयनमा ढिलाइ, नेपाल प्रहरी, स्थानीय निकायबाट हुने कामकारबाही, सडक, सिँचाइ, यातायात, स्वास्थ्य र सरकारी तथा गैरसरकारी कामका गुनासो बढी छन्। 

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०६:१६:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend