ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य फेरी सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो ।
अहिलेसम्म तीन वटा पाइल जमिनमा गाडिसकिएको छ । करिब ५० जना जनशक्तिलाई काममा प्रयोग गरिएको छ । मेसिनमा आधारित काम बढी भएकाले अहिले जनशक्ति कम राखेर निर्माण सुरु गरिएको बताइएको छ ।
केन्द्रका इन्जिनियर महर्जनका अनुसार नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार फ्लाइओभरको पाइलको सङ्ख्या दुवैतिर चार चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर पाइलको सङ्ख्या दुवैतिर १२/१२ वटा कायम गरिएको छ । प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ । फ्लाइओभरको मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन ।
फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिने छ । त्यतातर्फ २८० मिटर लामो र्याम हुने र सातदोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्याम हुने छ ।
सुपर स्ट्रक्चर ३५ मिटर लम्बाइको हुने फ्लाइओभरको जम्मा लम्बाइ ४९० मिटर हुने छ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जाने छन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सीधै सञ्चालन हुने छन् । कुल १७ करोड ६८ लाख रुपियाँको लागत फ्लाइओभर निर्माण हुने छ ।