भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा शनिबार हुने दशै तिहार फेस्टिबलको तयारी पुरा भएको छ । नेपालीहरुको महान चाँड दशै र तिहारको मुखैमा आयोजना हुन लागेको यो कार्यक्रमलाई भब्य तरिकाले मनाउनका लागि आयोजकले सम्पुर्ण तयारी पुरा गरेका छन ।
भर्जिनियाको मानाससमा हुने कार्यक्रममा सांगितीक प्रस्तुतीका साथै नेपाली संस्कृती झल्किने कार्यक्रम हुनेछन । अनेस्ट रियल स्टेटको मुख्य प्रायोजन रहेको कार्यक्रममा धेरै सहयोगी हातहरु रहेका छन । कार्यक्रममा नेपाली परिकारका साथै ब्यवसाय क्षेत्र गरेर करिव ६० वटा स्टलहरु राखिने आयोजकको भनाई छ ।
कार्यक्रम शनिबार दिउँसो १२ बजेबाट सुरु हुनेछ । जसमा साँझ ६ बजेसम्म अरु कार्यक्रम हुनेछन भने साँझ ६ देखि राति १० बजेसम्म सांगितिक कार्यक्रमहरु हुनेछन ।
जसमा विभिन्न कलाकारको प्रस्तुती रहनेछ । यहि कार्यक्रममा नेपाली चर्चित संगितकार कालिप्रसाद बास्कोटाको पनि प्रस्तुती हुनेछ । यसका साथै फिरधोज स्यांदान र उनको ब्याण्ड, नेपाली अमेरिकी गायक परिजिताको पनि प्रस्तुती हुनेछ । यस्तै प्रकृती देउजासँगै मोक्ष मन्त्र ब्याण्डले पनि आफ्नो प्रस्तुती दिनेछन ।
वासिंटन, भर्जिनिया र मेरिल्याण्ड क्षेत्रमा रहेका नेपालीहरुको यो कार्यक्रममा राम्रो सहभागिता हुने आशा गरिएको छ । कार्यक्रममा आठ देखि १० हजार मानिसको उपस्थिती हुने आशा गरिएको छ । कार्यक्रममा सहभागिताका लागि विशिष्ठ तर्फ एक सय डलर, साधारण तर्फ १५ डलर टिकट राखिएको छ । कार्यक्रममा नेपाली संस्कृती झल्किने नाचगानका साथै कुमारी जात्रापनि राखिनेछ ।
यो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नका लागि बिभिन्न प्रायोजकले राम्रो साथ दिएका छन । शनिबारको माैसममा बर्षा देखाएकाले आयोजकले बर्षाले केहि असर नगर्ने बताएका छन ।