इजरायलबाट उद्धार गरिएका १८ जना आज नेपाल आइपुग्दै छन् ।
इजरायलबाट उद्धार गरिएका १८ नेपाली हिजो (मंगलबार) राति १० बजेर ५२ मिनेटमा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । दिल्लीस्थित कान्तिपुर सहकर्मी राजेश मिश्रका अनुसार इजरायलबाट दिल्ली आइपुगेका नेपालीहरुलाई स्वागतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मालगायत दूतावासका अधिकारीहरु विमानस्थल पुगेका थिए । उद्धार गरिएका १८ नेपाली आज (बिहीबार) नेपाल कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै आइपुग्नेछन् ।
दिल्लीमा अवतरणलगत्तै १८ नेपाली स्थलमार्ग हुँदै नेपालका लागि प्रस्थान गरेका थिए ।
उद्धार गरी नेपाला आएका १८ नेपालीले असोज २० गते हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका थिए । भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपालीहरु आएका हुन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकामा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, लक्ष्मण दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सीता गुरुङ र उर्मिला श्रेष्ठ छन् । नेपाल फर्कने १८ जनामा चार विद्यार्थी, १३ कामदार र एकजना पर्यटक भिसामा इजरायल पुगेकाहरु छन् ।
सरकारले यसअघि २५४ नेपालीको उद्धार गरेको थियो । त्यसबेला परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आफैं चार्टर्ड विमान लिएर इजरायल पुगेका थिए ।
करिब पाँच हजार नेपाली केयर गिभर र अध्ययनका लागि इजरायलमा छन् । उनीहरूमध्ये सरकारले देश फर्कन चाहनेबाट आवेदन माग गरेकामा ५०३ जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए । उनीहरूमध्ये अहिलेसम्म २७२ जनालाई नेपाल फर्काइएको छ ।