नेपाली चर्चित संगितकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीको प्रस्तुती रहेको दशै तिहार नाइट्स भब्य रुपमा सम्पन्न भएको छ । थ्री ही इन्टरटेन्मेन्ट र होराइजन ह्युजको संयुक्त आयोजनामा भएको कार्यक्रममा तीन सयको हाराहारीमा समर्थकको उपस्थिती रहेको थियो ।
बाल्टिमोरको टाउसन युनिभर्सिटीको हलमा भएको कार्यक्रम ८ बजेबाट सुरु भएर ११ बजे सम्पन्न भएको थियो ।
कार्यक्रमको सुरुवातमा इशिका खत्री, सुजना ठकुल्ला र पुनम थापाको नेपाली गितमा नृत्य गरेका थिए । करिव तीन घण्टा चलेको कार्यक्रमको बिचमा स्थानीय ब्याण्डको प्र्रस्तुतीमा उपस्थित दर्शकहरु मज्जाले नाचेका थिए । ब्याण्डले नेपथ्य ब्याण्डका केहि चर्चित गितहरु प्रस्तुत गरेका थिए ।
निशा अधिकारीको उद्घोष गरेको कार्यक्रममा इन्दिरा जोशीले आफ्ना आधा दर्जन चर्चित गितहरु प्रस्तुत गरेकी थिइन । जसमा मोटरसाइकलमा, उध्रेको चोली जस्ता चर्चित गितहरु थिए । नेपाली साकिरा उपनामले चर्चित इन्दिराले कार्यक्रममा उपस्थित युवा युवतीलाई आफ्नो प्रस्तुतिबाट नचाएकी थिइन ।
करिव ४५ मिनेटसम्म इन्दिराको प्रस्तुतीमा झुमेका दर्शक निकै रमाएका थिए । कार्यक्रमको अन्तिम प्रस्तुतीका रुपमा कालिप्रसाद बास्कोटाको प्रस्तुती थियो । उनले पनि आफ्ना चर्चित गितहरुमा दर्शकलाई नचाएका थिए ।
कार्यक्रम सफल रुपमा सम्पन्न भएकोमा आयोजकपनि खुसी देखिएका थिए । यो कार्यक्रमलाई विभिन्न ब्यक्तिहरुले प्रायोजन गरेका थिए । कार्यक्रमका लागि टिकट बिक्रिबाट पनि राम्र्रो कलेक्सन भएको आयोजकको भनाई छ ।