Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री प्रचण्ड

हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री प्रचण्ड

नेप्लिज डायस्पोरा

९, कार्तिक २०८०
images
हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री प्रचण्ड

कार्तिक ९, रूकुम पश्चिम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिम्मतका साथ अगाडि बढेर माओवादी केन्द्रलाई फेरि शक्तिशाली पार्टी बनाउने बताउनुभएको छ।

पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बाफिकोट वडा नं.-६ र ७ को संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी शक्तिशाली बन्ने बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, "अभियानको क्रममा पार्टीका नेताहरू गाउँ-गाउँ पुग्नुभएको छ। पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ। यसरी हेर्दा माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्छ। यो पार्टी कमजोर भए गणतन्त्र नै उल्टिन्छ। यो हाम्रा लागि जीवन मरणको संघर्ष नै हो। यो देश हामीले मात्र बचाउन सक्छौं। हिजो विभाजित भएका साथीहरू पनि समाजवादी मोर्चामा आउनुभएको छ। पार्टी एकताका निम्ति पनि सकारात्मक पहल हुँदैछ। जस्तोसुकै परिस्थिति आए पनि हामीले हिम्मत हार्नु हुँदैन। पार्टी शक्तिशाली हुन्छ। शक्तिशाली बनाइन्छ।"

"सात वटै प्रदेशका १/१ वटा वडामा जाने योजनाअनुसार म यहाँ आएको छु। पार्टीलाई जनतासँग जोड्ने, पार्टी रूपान्तरण गर्ने र पार्टी जनतातिर फर्काउने हाम्रो लक्ष्य छ" प्रधानमन्त्रीले भन्नुभयो, "यो अभियानले पार्टी बन्छ कि भन्ने जनतामा आशा र भरोसा बढ्न थालेको देखिन्छ। सबै रिपोर्ट हेर्दा अभियान प्रभावकारी नै देखिएको छ। जनयुद्धको जस्तो क्रान्तिकारी, जनतासँग घुलमिल हुने पार्टी बन्न सक्ला त ? यो हामी सबैका लागि महत्त्वपूर्ण प्रश्न हो। हिजो जनयुद्ध जनवादी क्रान्तिमा थियो, अहिले हामी समाजवादी क्रान्तिको तयारीमा छौं। सोहीअनुरूपको पार्टी बनाउँछौं।"

उहाँले भन्नुभयो, "अहिले हामीकहाँ केही निरासाजस्तो, विरोधीहरू, प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोज्नेजस्तो स्थिति छ। यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेका छौं। तसर्थ, परिवर्तनका मुद्दा र देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।" 

"हामीले तरिका मिलाएर सरकारको नेतृत्व गर्यौं, यो त्यत्तिकै भएको होइन। यहाँ पार्टीको कलात्मक नेतृत्वले काम गरेको छ। एकपटक हामी १००% मत प्राप्त गर्यौं। यो न हिजो थियो, न भविष्यमा होलाजस्तो खाले छ" प्रधानमन्त्रीले भन्नुभयो, "मिटरब्याज पीडित किसानहरूको समस्या समाधान गरेेका छौं। यसले मधेशमा माओवादीप्रति राम्रो आधार बनेको छ। जनताका लागि काम गर्ने पार्टी माओवादी भएको जनमत बनेको छ। नागरिकताबिहीन लाखौं नेपालीले नागरिकता पाएका छन्। हामीले लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं।"

प्रधानमन्त्रीले भन्नुभयो, "सुशासनको क्षेत्रमा नयाँ पहल लिइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल लिएका छौं। भ्रष्टाचारविरूद्भ सरकारले गम्भीरतापूर्वक काम गरिरहेका छौं। राष्ट्रिय स्वाधीनताका क्षेत्रमा महत्त्वपूर्ण काम गरिएको छ। १० वर्षमा १० हजार मेघावाट विद्युत व्यापारको सम्झौता गरिएको छ। २५ वर्षदेखि अड्किएका परियोजनाहरू अगाडि बढेका छन्। चीनसँग महत्त्वपूर्ण सम्झौता भएका छन्।"

"विश्व ठूलो ध्रुवीकरणमा जाँदैछ, हामीले बचाएर लैजानुपर्छ। ठूलाठूला युद्धका परिघटना देखिएका छन्। हामीले कुटनीतिक सन्तुलन कायम गर्नुपर्छ। यो देश हामीले मात्रै बचाउन सक्छौं" प्रधानमन्त्रीले भन्नुभयो।

बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - १७:२०:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend