Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए

पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए

नेप्लिज डायस्पोरा

१०, कार्तिक २०८०
images
पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए

वरिष्ठ कलाकार प्रकाश घिमिरे अहिले पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्।

शरीरमा लागेको चोटको पीडा सहन उनलाई गाह्रो भइरहेको आफन्तले बताएका छन्।

घिमिरेका भाइ सढंग घिमिरेका अनुसार अर्धचेत अवस्थामा रहेका प्रकाशले बेलाबेला आवाज त निकाल्छन्, तर दोहोरो कुराकानी गर्न सक्दैनन्।

'कहिलेकाहीँ ऐय्या, दुख्यो भनेर आवाज निकाल्नुहुन्छ। तर दोहोरो कुराकानी गर्न सक्ने अवस्था छैन,' सढंगले सेतोपाटीलाई भने, 'शरीरमा लागेको चोटको दुखाइले असह्य भएको जस्तो देखिन्छ।'

पोखरा–३ नदिपुरका स्थायी बासिन्दा प्रकाश शुक्रबार सबेरै साथी प्रेम शेरचन र गायक विनोद बानियासँग मर्निङ वाकमा गएका थिए। फर्किँदा गाईलाई कृत्रिम गर्भाधान गराउन भेटिरनरी डाक्टर बोलाएको बताएका थिए।

'मर्निङ वाकबाट फर्किँदा प्रकाशको घरमा डाक्टर आइसकेका रहेछन्। फोन आएपछि उहाँ घर लाग्नुभयो,' शेरचनले भने, 'गोठको काम सकेर घाँस काट्न हाम्रो घर आउनुभयो।'

शेरचनका अनुसार पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए।

त्यतिबेला शेरचन कुखुरालाई दाना बनाउँदै थिए। प्रकाश खसेको थाहा पाउनेबित्तिकै उद्धार गरेर मणिपाल अस्पताल पुर्‍याएको शेरचनले बताए।

अस्पतालका अनुसार प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ। ढाडमा पनि चोट लागेको छ।

उनलाई थप उपचार गर्न शनिबार काठमाडौं लैजाने तयारी गरिएको परिवारले जनाएको छ।

नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। 

२०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल 'दलन' मा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए।

उनले 'टलकजंग भर्सेस टुल्के', 'पशुपति प्रसाद', 'फन्को', 'जात्रा', 'पञ्चेबाजा', 'पानीफोटो' लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्।

प्रकाश अभिनीत चलचित्र 'पशुपति प्रसाद २ः भष्मे डन' अहिले प्रदर्शनमा छ।

नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।

images
प्रकाशित मिति :कार्तिक १०, २०८० शुक्रवार - १८:२४:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend