Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।

नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।

बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म (१५ दिन) प्रत्येक व्यक्ति तथा परिवार’bout विस्तृत विवरण संकलन गरेको थियो ।

सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।

नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् ।

यीमध्यै पौने ५ लाख घर खाली अवस्थामा रहेका छन् । वैदेशिक रोजगार र सहरकेन्द्रित बसाइ हुँदा सबैभन्दा बढी खाली घर दोलखामा पाइएको छ । दोलखामा २१ प्रतिशत घर खाली छन् । यसैगरी सिन्धुपाल्चोकमा पनि १७ प्रतिशत घर खाली छन् । जाजरकोटमा १५ प्रतिशत घर मानवविहीन छन् भने मुखुकमा १४ प्रतिशत घर प्रयोगविहीन अवस्थामा छन् । यसैगरी रसुवामा १४ प्रतिशत, नुवाकोटमा १३ दशमलव ९८ प्रतिशत, काभ्रेमा १४ प्रतिशत, गोरखामा १२ प्रतिशत पर्वतमा १० प्रतिशत, रामेछापमा १८ प्रतिशत घर बिनाप्रयोजन बनाएको पाइएको छ ।

पालिकागत रूपमा हेर्दा गौरीशंकर गाउँपालिकामा ३० प्रतिशत घर खाली छन् । २० प्रतिशतभन्दा बढी खाली घर रहेका पालिकामा चौरी देउराली, भोटेकोशी, धार्चे, शैलुङ, बैटेश्वरी, लिसंखु पाखार, खानीखोला, डुप्चेश्वरी, कालिन्चोक, मेलुङ, खाँडादेवी, गोकुलगंगा, सिगार, सुनकोशी र बिगु गाउँपालिका रहेका छन् ।

आठविसकोट नगरपालिका र नालगाड नगरपलिकामा २० प्रतिशत बढी घर खाली छन् । यसैगरी नमोबुद्ध, मेलौली, भीमेश्वर, रामेछाप नगरपालिकामा पनि २० प्रतिशतकै हाराहारीमा घर खाली भेटिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले घर तथा घरपरिवार सूचीकरण फाराममा संकलित विवरणमध्ये घरको मुख्य प्रयोग र घरको आयुअनुसार नतिजा सार्वजनिक गरिएको हो । विवरणर कुल ७५ लाख ५२ हजार घरमध्ये २७ दशमलव ९५ प्रतिशत घर चार वर्ष पुराना छन् भने १ सयभन्दा बढी वर्षका ३ हजार ७ सय ५५ घर छन् ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । सो प्रतिशत सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० परिवारमा कम्तीमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । यसैगरी, कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५ दशमलव ४६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्था (सहकारी संस्थाबाहेक) मा कम्तीमा एउटा खाता रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४९ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको तथ्यांक रहेको छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २९ दशमलव ९६ प्रतिशत देखिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०५:५९:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend