नेपालका चर्चित गायक हर्कुलस बस्नेत अमेरिकाको सांगितिक टुर बिचमा नै छोडेर नेपाल फर्किएका छन । गायिका अस्मिता बस्नेतसँग पहिलो पटक अमेरिका टुरमा आएका हर्कुलस न्युयोर्कमा भएको सांगितिक प्रस्तुती अगाडी बिचमा नै आयोजकसँग सम्पर्कबिहिन भएर नेपाल गायब भएका थिए । उनी गायब भएपछि धेरै शंका उपशंका गरिएका थिए । तर उनी आफ्नो टुरलाई बिचमा नै छोडेर नेपाल फर्किएका हुन । उनी ६ तारिखको राती नेपाल पुगेका हुन ।
करिव १२ वटा शहरमा सांगितिक प्रस्तुती दिने योजनाका साथ पी थ्री भिषामा नेपालबाट अमेरिका आएका हर्कुलसले अमेरिकाको डालाल, ओहायो, बोस्टनमा सांगितिक कार्यक्रम गरेका थिए । त्यसपछि न्युयोर्कमा कार्यक्रम हुनुको अघिल्लो दिन उनी आयोजकसँग सम्पर्कबिहिन भएका थिए ।
त्यसपछि उनी न्युयोर्कबाट भजिर्निया पुगेका थिए । त्यहाँ दुई आफन्तको घरमा दुई रात विताएर बाल्टिमोर पुगेका थिए र पछि नेपाल फर्किएका थिए । नेपाल पुगेको अर्को दिन विश्व लिम्बुको पोडकाष्टमा उनले अमेरिका टुर छोड्नुको कारण आयोजकका कारण भएको बताए ।
उनले डालासमा भएको प्रस्तुती देखि नै आयोजकसँग खटपट परेको र उनले आयोजकलाई बारम्बार ब्यवहार सुधार गर्नका लागि आग्रह गरेको, तर त्यो नभएपछि आफुले टुर छोडेको बताए ।
उनले अमेरिका आउँदा ठूलो आत्मविश्वासका साथ पुगेपनि त्यहाँ पुगेर आफुलाई तल पार्न खोजिएको र आयोजकले कलाकारप्रतिको ब्यवहार राम्रो नभएका कारण आफुले मानसिक दबाब महसुस गरेको र सहन नसकेर छोडेर फर्किएको बताए ।
उनले अमेरिका भ्रमण आफुसहित सबैका लागि राम्रो अवसर भएपनि जुन तरिकाले आयोजकले ब्यवहार गरे, त्यो कुनैपनि कलाकारका लागि नराम्रो भएको र आफुले ब्यवहारप्रति आवाज उठाएपनि त्यो परिवर्तन नभएपछि, यसरी पैशा चाहिँदैन भनेर फर्किएको बताए । आयोजकले कलाकारलाई तल्लो दर्जाको राख्न खोजेको र जे गरेपनि हुन्छ भन्ने सोच पाएको बताए । जुन कुरा आफुलाई सहन कठिन भएको धारणा राखे ।
उनले अमेरिका टुरमा आउँदा सांगितिक कार्यक्रमका लागि पुग्दा आफुले सोचेको र आयोजकले गरेको ब्यवहार निकै फरक पाएको र त्यो सहन नसकेर आफुले छोडेको बताए । उनले नेपालबाट जाँदा जुन सर्तहरु राखिएको थियो, जुन कुराहरुलाई आयोजकले गर्ने गरेर बाचा गरेका थिए, त्यो गनरेका कारण मानसिक रुपमा त्यसमा जोडिरहन उचित नठानेको र ग्रुपमा मैले छोडे भनेर बिचमा म्यासेज गरेको बताए ।
उनले अमेरिका आउँदा जसलाई अभिभावक सम्झेर गएको थिए, त्यो नपाएको र मानसिक रुपमा बिक्षिप्त भएको बताए । साथै उनले नेपाल फर्किदा आफुसँग हवाई भाडा पनि नभएको समेत बताए ।
हर्कुलसले आयोजकको नाम भने सार्वजनिक गरेनन् । हर्कुलस गायब भएपनि उनी लुकेको भन्ने हल्ला फैलिएको थियो । त्यसको खण्डन गर्दै उनले मिडियामा पनि आयोजकले समाचार लेखाउन लगाएको आरोप लगाए ।
आयोजकसँगको खटपटका कारण हर्कुलस नेपाल फर्किएपनि उनीसँगै आएकी गायिका अस्मिता अधिकारी भने अहिलेपनि सांगितिक कार्यक्रममा अमेरिकामा नै रहेकी छिन ।