Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कर्मदाको लक्ष्मी जयन्ती विशेष कवि गोष्ठी सम्पन्न

कर्मदाको लक्ष्मी जयन्ती विशेष कवि गोष्ठी सम्पन्न

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
कर्मदाको लक्ष्मी जयन्ती विशेष कवि गोष्ठी सम्पन्न

पाल्पा २३, कार्तिक २०८० ।

 

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको  ३२ औँ प्रविधिमैत्री लक्ष्मी जयन्ती विशेष कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता तथा वरिष्ठकवि पुरुषोत्तम सिग्देलज्यूको प्रमुख आमन्त्रितमा भव्य रूपमा सम्पन्न भयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।

लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । ११५ औँ  महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर उहाँलाई बिम्ब बनाएर रचेका कविता छन्द, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे ।

रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

 यस अवसरमा रचना वाचन गर्ने कविहरू पुरुषोत्तम सिग्देल, गोविन्दप्रसाद घिमिरे वेदमणि, मुकुन्द शर्मा चालिसे, गङ्गा लिगल, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, जनार्दन अधिकारी धड्कन, दुर्गाप्रसाद सिग्देल, जित कार्की, गोम विक्रम, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, लक्ष्मीप्रसाद मिश्र, सुधा बाँसकोटा ढकाल, टेकबहादुर लौडारी, बिनुबाबा घिमिरे, वीरबहादुर लोहनी, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, र नरेश नेपालले, वाचन गर्नु भएको थियो ।


   प्रमुख आमन्त्रित  पुरुषोत्तम सिग्देलले  साहित्य सुन्दर फूल हो । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषयवस्तुलाई बिम्ब बनाएका छन् भन्दै महाकवि देवकोटाको तासकन्दमा सहभागी भएर नेपाली साहित्यलाई विश्व सामु उजागर गर्नु भएको प्रसङ्ग जोड्नु भएको थियो । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजार पुऱ्यायो । कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भन्दै शुभकामना दिनु भयो ।

डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । भाग्यशाली अधिकारीले कर्मदाले साहित्यमा पुऱ्याएको योगदानको बारेमा चर्चा गर्नु भयो ।

प्रमुख अतिथि सिग्देलले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो । उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले लक्ष्मी जयन्ती विशेष कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २१:१०:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend