दक्षिण कोरिया नेपाली श्रमिकहरूका लागि निकै बढी सुरक्षित गन्तव्य मुलुक मानिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा जाने श्रमिकहरूको सुरक्षाका लागि कोरिया निकै सचेत छ । कोरियन रोजगारदाताको समेत प्रमुख रोजाइमा नेपाली श्रमिक नै पर्छन् । तर, त्यहाँ नेपाली श्रमिकहरूको मृत्यु बढ्दो क्रममा छ, त्यसमा पनि आत्महत्या दर बढी छ ।
दक्षिण कोरियास्थित नेपाली दूतावासले ईपीएस कोरिया शाखालाई उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म २५० नेपालीको मृत्यु भएको छ । जसमा ६८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ६२ जनाको कुनै कारण नखुली मृत्यु भएको देखिन्छ । काम गर्दागर्दै ३० जनाले ज्यान गुमाएका छन् भने बिरामी भएर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जनाको समुन्द्रमा डुबेर तथा ३५ जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार २०६५ यता वैदेशिक रोजगारीमा गएका साढे १२ हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । तीमध्ये एक हजार ३०० भन्दा बढीले आत्महत्या गरेका छन् ।
कोरियामा सन् २००८ देखि हालसम्म ६८ जनाले आत्महत्या गरेका हुन् ।