Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

रुसमा मारिएका भरत शाहको परिवारले कुसको प्रतिमा बनाएर दाहसंस्कार गर्यो

रुसमा मारिएका भरत शाहको परिवारले कुसको प्रतिमा बनाएर दाहसंस्कार गर्यो

images
रुसमा मारिएका भरत शाहको परिवारले कुसको प्रतिमा बनाएर दाहसंस्कार गर्यो

 

काठमाडौँ । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको उतै मृत्यु भएपछि परिवारले कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । जिल्लाको टीकापुर नगरपालिका-१, दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबरपछि आइतबार कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको हो ।

उनी तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । परिवारले शुक्रबार मात्र उनको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरे । यद्यपि भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिएको छैन ।

मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका थिए । शव आउने/नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेको उनले बताए । सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो ।

 

तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए । नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए । उनीसँग कुराकानी नभएको तीन हप्ता भइसकेको थियो । भरतको खबर सुनेपछि परिवार सम्हालिन सकेको छैन । विक्षिप्त बनेको परिवारलाई छरछिमेक र इष्टमित्रले सान्त्वना दिइरहेका छन् ।

मृतक भरत घरका माइला हुन् । उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी छन् । शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका-६ दर्नाबाट टीकापुर बसाई सरेको हो । मकालु डटकममा समाचार छ ।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - ००:३७:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend