Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डीभी परेपछि नक्कली शैक्षिक योग्यता पेस गरेका १० जना पक्राउ

डीभी परेपछि नक्कली शैक्षिक योग्यता पेस गरेका १० जना पक्राउ

नेप्लिज डायस्पोरा

१८, माघ २०८०
images
डीभी परेपछि  नक्कली शैक्षिक योग्यता पेस गरेका १० जना पक्राउ

 

काठमाडौं । डिभी परेपनि शैक्षिक योग्यता नपुगेकाहरु नक्कली कागज बनाएर प्रक्रिया पुर्याउन खोज्ने र उनीहरुलाई सहयोग गर्ने १० जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले उनिहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, सन् २०२३ मा अमेरिकाको डीभी परेका ती मानिसहरुसंग भिसा प्रक्रियाका चाहिने न्यूनतम शैक्षिक योग्यता थिएन ।  जसका लागि उनीहरुले कक्षा ११ र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती, लमजुङको बेसीसहर–५ की २४ वर्षीया रोना गुरुङ, ललितपुरको ललितपुर–१४ का २५ वर्षीय सञ्जय महर्जन रहेका छन् ।

 

यसैगरी, चितवनको भरतपुर–१२ का २५ वर्षीय सुमन ढकाल, सिराहाको सिराहा–१ का २९ वर्षीय सक्षम अर्याल, सर्लाहीको लालबन्दी–४ का ३५ वर्षीय सुरज अधिकारी, दोलखाको चरिकोट–९ का २६ वर्षीय अशोक श्रेष्ठ, पर्साको वीरगञ्ज–१० का २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन–९ का २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेका हुन् ।

 

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

सुरुमा प्रहरीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जनसहितको संलग्नता रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १८:५९:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend