Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

‘बच्चा जन्माएँ’ भन्दै मनकुमारीले बोलाइन् आफन्त, बधाई थाप्दैगर्दा लाग्यो हत्कडी

‘बच्चा जन्माएँ’ भन्दै मनकुमारीले बोलाइन् आफन्त, बधाई थाप्दैगर्दा लाग्यो हत्कडी

नेप्लिज डायस्पोरा

१४, फाल्गुण २०८०
images
‘बच्चा जन्माएँ’ भन्दै मनकुमारीले बोलाइन् आफन्त, बधाई थाप्दैगर्दा लाग्यो हत्कडी

यसरी फर्कियो सबिनाको खुसी

उनीहरू प्रहरीमाथि जाइलाग्न खोजे । “मैले आफैँले जन्माएकी हुँ, तिमीहरू चोर भन्छौँ” भन्दै मनकुमारीले प्रहरीमाथि डाडु उठाइन् । तर, प्रहरीले बच्चा लगिएको सीसीटीभी फुटेज देखायो । हुलिया उनकै थियो । तैपनि मनकुमारीले आफ्नो ‘डीएनए टेस्ट गर्न’ चुनौती दिइन् ।

श्यामसुन्दर पुडासैनी

बच्चा चोरी भएकी सबिना श्रेष्ठ र उनकी जेठानी अस्मिता, अर्काेतर्फ सबिनाको शिशु, माथि गोलो घेरामा बच्चा चोर्ने दैलेखको नौमुलेकी मनकुमारी सिंह।

 

काठमाडौं । ‘छोरी काटीकुटी आमाजस्ती, ल बधाई छ है’ आफन्त कुरा गर्दै थिए । कोही बच्चाको अनुहार आमासँग दाँज्दै थिए त कोही बाउसँग मिल्ने दाबी गर्दै थिए । बच्चाको नाम के राख्ने, कस्तो राख्ने भन्नेबारे सरसल्लाह हुँदै थियो । आउने जानेको ओहोरदोहोर थियो । फ्ल्याटभरी पाहुना थिए ।

भान्साबाट मासु पोकेको मीठो बास्ना आइरहेको थियो । अरू परिकार पनि पाक्दै थिए । सुत्केरीको लागि लोकल भाले अर्डर भइसकेको थियो । बधाई दिन आएका नातेदार कतिपयले घीउ ल्याएका थिए । कतिपयले सुत्केरीले खाने मरमसला पकाएरै ल्याएका थिए ।

सुत्केरीकी दिदीले माइतीबाट खसीको मासुका पक्कु, गेभ्री, सुपसतिका परिकार घरमै बनाएर ल्याएकी रहेछिन् । के-केचाहिँ खाने भन्ने अन्योलमा थिइन्, सुत्केरी । ‘चुचुचुचु…’ गर्दै रोइरहेको बच्चालाई फुल्याउँदै थिइन् उनी । टाउकोमा मजेत्रो बाँधेर कुनामा पल्टिएकी थिइन् सुत्केरी । भोटो लगाएको बच्चा ब्ल्याङ्केटले अनुहार मात्र देखाएर सुताइएको थियो । स्वास्थ्य अवस्था बुझ्दै आफन्त भन्थे, ‘कस्तो छ आमा र बच्चालाई ।’

‘ठीकै छ, तर मलाई अलि बढी रगत बगिरहेको छ,’ सुत्केरी भन्थिन् । रोइरहेको बच्चालाई मुखमा दूधदानीले दूध चुसाइरहेकी थिइन् ।

‘किन आफ्नो दूधले पुगेन र बच्चालाई ?’ आउनेहरू सोध्थे । ‘पहिलोपटक सुत्केरी भएर होला, दूधै आएन’ उनी जवाफ फर्काउँथिन् । बच्चाले दूधदानीले दूध खान मान्थेन । बच्चा दूध नखाने तर, रोइरहने भएपछि सुत्केरी हत्तु थिइन् । आउनेहरू बच्चाको मुख हेरेर नगद दक्षिणा दिइरहेका थिए ।

अबेर रात भए पनि सन्तान जन्मिएको खुसीको खबरले नजिक बस्ने आफन्त त्यहाँ पुगेका थिए ।

यो दृश्य, शुक्रबार साँझ काठमाडौं कागेश्वरी मनोहरा ९ काँडाघारीस्थित २४ वर्षीया मनकुमारी सिंहको कोठाको थियो ।

दैलेख नौमुले १ घर भएकी उनी त्यहाँ केही समययता कोठा लिएर बस्थिन् । उनका श्रीमान नरेन्द्र मल्ला नेपाली सेनामा जागिरे थिए ।

परिवारका अरू सदस्य पनि थिए । मनकुमारीले सबैलाई आफूले बच्चा जन्माएको भनेर विश्वास दिलाएकी थिइन । बच्चा जन्मेको भन्दै श्रीमान पनि घरमा आएका थिए ।

bachcha-chor-e1708855210249.jpg

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको लैजाँदैगर्दा दैलेखको नौमुलेकी मनकुमारी सिंह (सीसीटीभी फुटेजबाट)

बच्चा लिन भन्दै अपरिचित कोठामा छिरेपछि…

रातको राति साढे ११ बजेको थियो । मनकुमारी सुत्केरी पल्टिएकी थिइन् । अगाडि बच्चा रूँदै थियो । मनकुमारी थप्थपाउँदै थिइन् । फ्ल्याटमा केही मानिस छिरे । आफन्तले सुत्केरीका कोही चिनेजानेका मानिस होलान् भन्ने अनुमान गरे । तर, सुत्केरीले चिनिनन् ।

ती मानिसले भने, “हामी यो बच्चा लिन आएका हौँ ।” सुत्केरी र आफन्त केही डराए, अलमलमा परे । नयाँ मानिसले परिचय र कारण खुलाउँदै भने, “यो बच्चा चोरेर ल्याइएको हो, त्यसैले लिन आएका हौँ । हामी पुलिस हौँ ।”

यो सुनेर मनकुमारीका श्रीमान् चकित भए । बधाई दिन आएका आफन्तले तीनछक पर्दै जिब्रो टोके । सुत्केरीको लागि भन्दै घीउ, मासु र मरमसला ल्याउने पाहुनाले निधार खुम्चाए ।

तर, सुत्केरी भनिएकी मनकुमारी र उनकी नाताले दिदी पर्ने आक्रोशित भइन् । उनीहरू प्रहरीमाथि जाइलाग्न खोजे । “मैले आफैँले जन्माएकी हुँ, तिमीहरू चोर भन्छौँ” भन्दै मनकुमारीले प्रहरीमाथि डाडु उठाइन् । तर, प्रहरीले बच्चा लगिएको सीसीटीभी फुटेज देखायो ।

हुलिया मनकुमारीकै थियो । तैपनि मनकुमारीले आफ्नो ‘डीएनए टेस्ट् गर्न’ चुनौती दिइन् । सुत्केरी र उनकी दिदी पर्नेको प्रतिकारको बाबजुद प्रहरीले बच्चा खोसेर कार्यालयमा ल्यायो ।

मनकुमारीसँगै उनका श्रीमान् र नाताले दिदी पर्नेलाई नियन्त्रणमा लियो । आइतबार श्रीमान् र दिदी हिरासतमुक्त भइसकेका छन् । तर, मनकुमारीलाई अपहरण मुद्दामा अनुसन्धान अघि बढाइएको छ । अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

Bachha-chor-______3-1536x864.jpg

बच्चा चोरी भएकी सबिना श्रेष्ठ र उनकी जेठानी अस्मिता, बच्चा फेलापरेपछि खुसी हुँदै

के थियो घटना ?

काभ्रेको चौंरीदेउराली गाउँपालिका ३ स्थायी घर भइ कपनमा बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठ नवजात शिशु (छोरी) को स्वास्थ्य जाँच गर्न शुक्रबार बिहान अस्पताल गइन् ।

बच्चाको फलोअपको लागि उनी उनी बिहान साढे ९ बजेतिर थापाथलीस्थित परोपकार प्रसूति अस्पताल गएकी थिइन् । छोरीलाई जन्डिस र निमोनियाँको लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सविनाले सोही अस्पतालमै गएको माघ १५ मा छोरी जन्माएकी थिइन् । जेठाजु मनोज श्रेष्ठ र जेठानी दिदी अस्मितासहित सविना छोरीलाई लिएर अस्पताल पुगेकी थिइन् । सविनाका श्रीमान् पुजन घर कुर्न बसे ।

पुजनका दाजु मनोजको आफ्नै ट्याक्सी छ । उनले बुहारीलाई अस्पताल ल्याएका थिए । साथमा मनोजकी पत्नी (सविनाकी जेठानी)अस्मिता पनि थिइन् ।

नवजात शिशुसहित तीनै जनालाई आफ्नै ट्याक्सीमा अस्पताल पुर्‍याएर मनोज फर्किए । ओपीडी कक्षमा शिशुको स्वास्थ्य परीक्षण भयो । भिडिओ एक्सरे भयो । सविना र अस्मिता स्वास्थ्य एक्सरे रिर्पाेट कुरेर बसेका थिए । कुरेको लामै समय भएको थियो । सविना काखमा छोरी च्यापेर बसिरहेका थिइन् ।

बिहान ११ बजेतिर जेठानी अस्मिता एक्सरे रिपोर्ट लिन गइन् । सविनाको छोरीले दिशा गरिन् । उनी डाइपर फेर्दै थिइन् । त्यही बेलामा पहेँलो ब्यागसहित रातो कुर्था-सुरुवाल लगाएकी एक महिला आइन् ।

यसरी चोरियो आमाकै काखबाट २६ दिने शिशु !

ती महिलालाई सविनाले चिन्दैनथिन् । “बच्चा लग्यो भने रिर्पाेट छिटो दिन्छु, यसैले हिँड्नुस् म बच्चा लगेर रिर्पाेट दिलाइदिन्छु,” ती महिलाले भनिन् ।

छोरीले दिसा गरेपछि सविनाले भर्खरै ‘डाइपर’ फुकालेर नयाँ लगाइदिएकी थिइन् । पुरानो डाइपर ‘डस्टबिन’ सम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । त्यो मौकामा ती महिलाले बच्चा माग्दै भनिन्, ‘नानी मलाई दिनुस्, म सँगै तपाईँ हिँड्नुस् । रिर्पाेट छिटो आउँछ, तपाई छिटो घर जान पाउनुहुन्छ ।’

 

सबिना श्रेष्ठकी शिशु, जो चोरी भएकी थिइन्

सविना विश्वासमा परिन् । आफ्नो काखको बच्चा उनलाई दिइन् । बच्चा लिएर महिला भर्‍याङ चढिन् । डस्टबिनसम्म गएकी सविना पछिपछि जाँदा ती महिला भेटिनन् । महिलालाई नदेखेपछि आत्तिइन् ।

रिर्पाेट लिएर जेठानी आइपुगिन्, तर छोरी भेटिइनन् । कतै पत्तो नलागेपछि सविनाले श्रीमान्‌लाई ‘छोरी हराइ’ भन्दै खबर गरिन् । प्रहरीमा पनि खबर पुग्यो । छोरी हराउनुअघि अस्पतालमा भएका सबै गतिविधि पनि सीसीटीभीमा हेरियो ।

काठमाडौं प्रहरीको टोली अस्पताल पुगेर सीसीटीभीमार्फत खोजबिन अघि बढायो । यतिबेला १ बजिसकेको थियो ।

अस्पतालकै सीसीटीभी फुटेजमा बिहान ११ बजेर ४० मिनेटतिर मुखमा कालो मास्क र सलले टाउको छोपेकी रातो कुर्था-सुरुवालवाली महिला बच्चा बोकेर वनस्पति विभागतर्फको गेटबाट बाहिरिएको भेटियो । केही दूरी पर पुगेर महिला ट्याक्सीमा गएको देखियो ।

प्रहरी सीसीटीभी फुटेजको आधार र अरू विवरणको आधारमा ट्याक्सी र महिलाको हुलिया पिछा गर्दै पेप्सीकोला सनसिटी अपार्टमेन्ट नजिकको स्थानसम्म पुगेको थियो । महिला दिउँसो साढे १२ बजेपछि डेरामा पुगिन् ।

तर, प्रहरी अनुसन्धान गर्दैजाँदा राति मात्र उनको निवासमा पुगेको थियो । सविनाको बच्चा चोरेर जाने अपरिचित महिला तीनै थिइन्, मनकुमारी सिंह ।बच्चा चोरेर ल्याउने योजनाका साथ उनी शुक्रबार आफूले नियमित लगाउने हुलिया बदलेर प्रसूति गृह पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंका एसएसपी भूपेन्द्र खत्री भन्छन्, “त्यही क्रममा ओपीडीमा पुगेकी उनी र नवजात शिशुकी आमा सविनाको भेट भयो । सविनालाई छलेर बच्चा चोरेको लगिन् ।”

बच्चा चोरीको घटनामा प्रहरीले आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धक र मान्छे बेपत्ता पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

मनकुमारीविरुद्ध प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ । जसअन्तगत ७ देखी १० वर्षसम्म कैद सजाय हुने छ ।

बच्चा चोरी घटना: मनकुमारीविरुद्ध अपहरण कसुरमा मुद्दा दर्ता, १० वर्षसम्म जेलमा राख्न माग

बच्चाबिना सविनाको १२ घण्टा

एक घण्टासम्म खोज्दा बच्चा भेटिएन । बच्चाको खोजी हुँदै थियो । अस्पतालको सीसीटीभी फुटेज सविनालाई देखाइयो । सीसीटीभीमा कैद भिडिओमा उनले अघि आफ्नो हातबाट बच्चा लिने महिला मास्क लगाएर ट्याक्सी चढेर भागेको देखिन् ।

त्यो देख्नासाथ उनलाई भाउन्न छुट्यो । मस्तिकस्कले उनलाई रिङ्ग्याइरहँदा, सविना फर्किइन् करिब एक महिना अघिको घटनामा । उनको मस्तिकसमा छोरी जन्माउँदाका कुरा सिनेमाका दृश्यझैँ घुमिरहे ।

नौ महिना पुगिसकेकाले सबै तयारी सकिएको थियो । जेठाजुको ट्याक्सीमा सविनालाई प्रसूति अस्पताल थापाथली लगियो । अस्पताल गएपछि डाक्टरले सुत्केरी व्यथा लाग्ने औषधि दिए । सुइँ पनि लगाइदिए ।

त्यसपछिको दुखाई उनी कल्पना समेत गर्न सक्दिनन् । तीन दिनसम्म व्यथा लाग्यो । तर, बच्चा निस्किन सकेन । त्यसपछि चौथो दिनमा इमर्जेन्सी अप्रेसन गर्ने कुरा भयो । त्यो समयको पीडाले अझ खपिनसक्नु थियो ।

त्यो बेलाको औषधि र सुइँ लगाएपछि पनि स्लाइन पानीमा दिएको औषधिको व्यथा पूरै शरीर छियाछिया बनाएर काटेको भन्दा पनि असह्य थियो । उनी त फत्रक फत्रक परेकी थिइन् ।

त्यस्तो हुँदा त उनले डाक्टरलाई भनिन्, “मलाई चक्कु दिनु म आफैँ काटेर नानी निकाल्छु ।” त्यो पीडाको छटपटी भएको धेरै समय पछि उनलाइ अप्रेसन थिएटर लगियो । केही समयपछि अप्रेसन भयो ।

Bachha-chor-______2-1536x864.jpg

काभ्रे चौरीदेउरालीकी सबिना श्रेष्ठ र उनकी शिशु

एक छिनपछि च्याँ..च्याँ.. आवाज आयो । ऊ रोएको आवाजले सविनाको सबै पीडा हरायो । खुसीको आँसु झर्‍यो । डाक्टरले दुई हातले काखमा ल्याएर सविनालाई बच्चा देखाए । सुतिरहेकी उनको टाउको नजिकै लगिदिए ।

सविनाले टाउको हल्का ढल्काएर बच्चालाई चुमिन् । दुवै आखाँबाट बगेको खुसीको आँसु बच्चाको गालामा चुहियो । बच्चा गोरो थियो, उनी जस्तै ।

डाक्टरले बच्चा सविनाको छातीमा राखिदिए । बच्चा निकाल्दा एक छिनअघि चिरिएको पेट पनि उनलाई निको भए जस्तो लाग्यो । छातीमा बच्चा टासिँदा संसार जितेजस्तो अनुभव भयो ।

बच्चा उनको पेटबाट निकालिएर दुई ज्यान अलगअलग भइसकेपछि सविनाकै मुटुभित्रकै टुक्रा थियो । त्यही बच्चा २६ दिनको मात्र थियो । महिना दिन पनि नपुगेकी छोरीको भविष्यको बारेमा सोच्न थालिसकेकी थिइन्, सविना ।

सुत्केरी हुँदा चिरिएको शरीरको घाउ छोरीकै भविष्यको कल्पनामा निको बनाउँदै थिइन् । तर, तीनै छोरी आफ्नैकै काखबाट चोरी भएपछि सविना सम्हालिन सकिनन् ।

यसरी आफ्नो विगतका दिनहरू झलझली सम्झिरहेकी उनको काखमा छोरी नहुँदा मुर्छित भएर ढलिन् । सविना बेलाबेलामा ब्युँझिन्थिन् । ‘मेरो बच्चा देऊ, मेरो बच्चा देऊ’ भन्दै बरबराउँथिन् । फेरी होस् गुमाउँथिन् ।

 

अचेत सविनाले जब सुनिन् फेला परेको खबर

अचेत सविनाको बेलाबेलामा होस् खुलिरहेको थियो । आफूबाट चोरिएको बच्चा फेला परेको खबर  उनले मध्यरात साढे ११ बजे थाहा पाइन् ।

घटनाको १२ घण्टा बितिसकेको थियो । त्यसपछि उनको मुहारमा खुसी फर्कियो । उनको परिवार तत्कालै ट्याक्सीमा प्रहरी कार्यालय पुगे ।

शिशुलाई राति नै प्रहरीले परिवारको जिम्मा लगायो । शिशुको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सविना भन्छिन्, “मेरी छोरी भेटिइन् । मेरो मुटुको टुक्रा चोरी हुँदा म बेहोश थिएँ । अब राम्रोसँग सुरक्षित तरिकाले हुर्काउँछु । पढाउनेछु । ठूलो मान्छे बनाउनेछु ।”

 

यो फिचर सार्बजनिक हीत र जानकारीका लागि नेपाल लाईभ डटकमबाट जस्ताको तस्तै साभार गरिएको हो । 

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

 

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ०४:०५:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend