काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यदी नेपालमै रोजगार दिन सकिदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आ.ब.२०८१/०८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् ।
रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवर्द्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवर्द्धन गर्ने तर नेपालमा रोजगार प्रवर्द्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नु भएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु ।कार्यक्रममा त देखिएन् ।
लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदि तपाईले रोजगारी दिन सक्नु हुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदि रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ती बेरोजगारहरु पनि बाँच्न पाउनु पर्छ । यसमा सरकारको गम्भिरता देखिएन ।’
यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए ।