धुलाे
सडकभरी गाडीको लाम थियोे । किनारामा यात्रुहरू असरल्ल अल्मलिएका थिए । छरपष्ट यात्रु आहाल खेलेको भैंसी सुकेपछि टल्किए झैं धुलाेले टल्किएका थिए । निकैबेर कुर्दापनि गाडी नखुलेपछि हामी पनि ओर्लियाैं । बन्द हुनुको कारण बुझ्न हिँड्दै अगाडि बढ्यौं । एक किलोमिटर हिँडेपछि सुकिलामुकिला मान्छेकाे भिड देखियो ।बाहिरी घेरामा सुकिला मानिस भित्रीघेरामा क्यामेरावालाहरू र केन्द्रमा एउटा बुज्रुक माइक समातेर भाषण गरिरहेका थिए । हामी भिडभित्र प्रवेश नगर्दै नारावाजी शुरु भयो । “सडक निर्माणकाे वातावरण निर्माण गर !” उभिएकाहरूले भने-“निर्माण गर । निर्माण गर ।” केहीबेरकाे नाराबाजी पश्चात् उनिहरू किनारातर्फ लागे ।
मैले उत्सुकता मेटाउन भिडमा सामेल एउटा बृद्धलाई साेधेँ-“सडक बन्द गर्ने काे हुन बाजे ?”उनलेे मेरो मुखमा पुर्लुक्क हेर्दै भने-“चिनेनाै ? त्यही त हाे नि सडक निर्माण गर्ने ठेकेदार ।” मैले पुन: जिज्ञासा ब्यक्त गरेँ -“ठेकेदार आफै आन्दोलनमा ? अनि कस्ले गर्ने रहेछ काम ?” उसले भन्याे-” सारा सबै मिलेका छन् । गर्ने ,गराउने जम्मै । प्रक्रियाकाे नाटक गरी जन्ताकाे आँखामा धुलाे छरिरहेछन् ।” मैले फिस्स हाँस्दै शरीर देखाउँदै भनेँ-“आँखामा मात्र हाे र जिउभरी धुलाे बनाए नि हजुर ।” वृद्ध झनक्क रिसाउँदै भने -“तिमी जस्ता भेडालाई के थाहा धुलाे के हाे भन्ने ! खाली हावामा उडेको धुलाे देख्छाै । कानुन, धर्म ,विधि , पद्धति , संस्कृति,समृद्धि सारा धुलाेपारी उडाईसके । देख्नेले त्यही देख्ला भनेरै आँखामा छारो हालेको के देख्थ्याै र तिमी उल्लुहरूले दिउँसै ।”
मैले नै सडक अवरुद्घ गरे जसरी रिसाएर राता आँखाले मलाई घुर्दै उनी उकालाे लागे ।
-गाेपीराम भण्डारी
ठेगाना :टाेखा ३ काठमाडौं
माेवाईल न : ९८६०६५१४७९