काठमाडौँ । लामो समयदेखि अल्झिरहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया सहमति उन्मुख भएको छ । सहमति खोज्न बनेको कार्यदलले बुधबार शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको थियो ।
सिंहदरबारमा बसेको कार्यदलको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको कार्यदल सदस्य जनार्दन शर्माले बताए ।
असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बिचमा कार्यदल बनाएर सहमति हुन बाँकी रहेको चार बुँदा टुङ्ग्याउने सहमति भएको थियो ।
उक्त सहमति अनुसार बुधबार पहिलो बैठक बसेको थियो । छलफल निकै सकारात्मक रहेको र दुई विषयमा सहमति भएको तथा बाँकी दुई विषयमा आगामी केही दिनको बसाइमा टुङ्ग्याउने अनौपचारिक सहमति भएको कार्यदलका सदस्यले बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक एवं कार्यदलका सदस्य रमेश लेखकले बुधबारको बैठकमा एक विषयमा सहमति भएको बताए ।
‘सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा विवादित चारमध्ये एक विषयमा हामी सहमतिमा पुगेका छौँ,’ लेखकले भने, ‘सङक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया विशेष प्रकृतिको भएकाले सजाय पनि सोही अनुरुप गर्ने गरी अधिकतम ६६ प्रतिशतसम्म छुट दिने र ३३ प्रतिशतसम्म मात्र सजाय गर्ने सहमति भएको छ ।’