Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कोलोराडोबाट शुरु भयो नेपथ्यको अमेरिका श्रृङ्खला २०२४

कोलोराडोबाट शुरु भयो नेपथ्यको अमेरिका श्रृङ्खला २०२४

नेप्लिज डायस्पोरा

२१, श्रावण २०८१
images
कोलोराडोबाट शुरु भयो नेपथ्यको अमेरिका श्रृङ्खला २०२४

 

अमेरिकाका सातवटा शहरहरूमा श्रृङ्खलाबद्ध कन्सर्ट गर्ने गरी सांगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न भएको छ ।

पूर्वघोषित तालिका अनुसारै स्थानीय समयअनुसार ७ बजे कन्सर्ट सुरु भयो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाति प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो ।

२ घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो– ‘गजब ! कलाकार र श्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव ।’

 

कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एकसय वर्ष पुरानो ‘बोल्डर थिएटर’ मा तीन दशकदेखि सेवारत रोब भन्दै थिए, ‘मञ्चबाट आएको कलाकारको अवाजभन्दा दर्शकहरूको सामूहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन गर्न चुनैतीपूर्ण हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।'

'दर्शक र कलाकार दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकबीच एक किसिमको सिनर्जी विकास हुँदै गएको देखिन्थ्यो,' बोल्डर थिएटरका अपरेशनल म्यानेजर ड्यानियल मर्फी भन्दै थिए ।

 

'व्यवथापन, प्राविधिक संयोजन, दर्शकको ऊर्जा र कलाकारको प्रस्तुति सबैको जादुइ समिश्रणले यो कार्यक्रम उत्कृष्ट र अविस्मरणीय बन्न पुग्यो,' स्टेज म्यानेजर डेल फ्यान्टन आफ्नो अनुभव सुनाउदै थिए ।

 

४० दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्याण्डका अमृत गुरुङ सुनाउदै थिए । ‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौंलाई भगीनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,’ अमृतले भने, ‘दुवै शहरका नगरप्रमुखहरूबीच यहाँ एक नेपाली सांस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’

 

ब्याण्ड पहिलोपटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा आफूलाई खुसी लागेको अमृतले बताए ।

शनिबारको कन्सर्टमा आएका दर्शकहरूमा केही चिरपरिचित अनुहारहरु पनि देखिन्थे । तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रिमा गुरुङ होडा । ‘कोलोराडो वरिपरीबाट आएका नेपालीहरूको भीडले बोल्डर शहरलाई नेपालमय बनाएको अनुभव भैरहेको छ,’ कन्सर्ट सकिएपछि रिमाको प्रतिक्रिया थियो, ‘नेपथ्य कन्सर्ट अनुभव गर्ने कोलोराडोवासी नेपालीहरूको लामो समयदेखिको सपना बल्ल पूरा भएको छ ।’

नेपथ्यका सर्वकालीक हिट गीतहरू समेटिएको कन्सर्टमा ब्याण्डको स्थापनाकालीन ‘आँगनैभरि’देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म अटाएको थियो । अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरू संकलन गर्ने अवसर पाएको सुनौउँदै, नेपाल आउँदा देश घुम्न पनि सुझाए । यति भन्दै, अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत 'सिरफुल' सुनाए । र, पृष्टभूमिको पर्दामा देखियो यात्राका दौरान अमृतले खिचेका रुकुम यात्राका तस्वीरहरू ।

 

'नेपाल सम्झिएँ, यहाँका नेपालीहरूको सामीप्य अनुभूत गरेँ, अमृत भाइ र नेपथ्य टोलीले यहाँ चमत्कार नै गरे' लहरा पहरा गीतका सर्जक लेकाली गायक हिरण्य भोजपुरेले आफ्नो अनुभव सुनाए । भोजपुरेका श्रीमती, पूर्वसचिव र लेकाली गायिका उर्मिला श्रेष्ठका साथै दुइ छोरा, छोरी ज्वाईं र नातिनी सहित कार्यक्रम हेर्न आएका थिए । 'यो उमेरमा पनि एक्लै २ घण्टा प्रस्तुति दिन सक्ने अमृत भाइको स्टामिना देख्दा र उनीसँगै सबै रमाएको देख्दा एकदम रमाइलो लाग्यो,' उर्मिलाले थपिन् । 'उचित व्यवस्थापन पायो भने नेपाली कार्यक्रमपनि अन्तर्रास्ट्रिय स्तरमा प्रस्तुत हुन सक्छ भनेर यो कार्यक्रमले देखाएको अनुभव भयो,' भोजपुरेका छोरी सितुले भनिन् ।

कन्सर्टको अन्तिमतिर पुग्नै लाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरूको संख्या बढ्यो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरूमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भब्य रूपमा 'सोल्ड आउट'  सहित सभ्य रूपमा सफल भएको प्रतिक्रिया दिएको छ ।

अमेरिका यात्राको प्रथम कन्सर्ट सम्पन्न भएसँगै अबको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखमा नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदै छ । त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - २०:२८:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend