Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

पाए सबै खान्छु म -डिल्लीराज अर्याल

पाए सबै खान्छु म -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

२४, श्रावण २०८१
images
पाए सबै खान्छु म  -डिल्लीराज अर्याल


भोको हुन्न अघाउँद छु म सधै रित्तो कहाँ पेट छ  
पोको य गणतन्त्रको अब खुल्यो खानासँगै भेट छ 
मज्जाको रसिलो मिठो मगमगी छर्दैछ बास्ना अझ 
खाना पौष्टिक शक्तिवर्धक हुँदा सन्तुष्ट झैं चित्त छ। 

मान्छे दौडिरहेछ सोच मनमा नौला लिने गर्दछ 
भाडा दौडिरहेछ तेल महँगी त्यस्तै छिटो सर्दछ 
देशै दौडिरहेछरेल दगुर्‍यो आकाशमा, भूमिमा 
मात्रै चाह भिरी दगुर्दछ युवा वैदेशिकी काममा ! 

सीमा दौडिरहेछ भित्र अहिले सन्तापमा पर्दिनँ 
धीमा दौडिरहेछ चित्र कहिल्यै आकारमा हेर्दिनँ 
माछा पौडिरहेछ मात्र जलमा अन्यत्र खै भेट्दिनँ  
माछा खोजिरहेछ भेक करमा पर्ला भनी ठान्दिनँ 

खाने मात्र कुरो छ तृप्ति मनमा आउन्न भोको छु म
खाने मात्र चुरो छ खान्छु तर खै कैल्यै अघाउन्न म 
खानाकै सुरमा छु खान्छु म सधै खाएर भ्याउन्न म 
खाना यो गणतन्त्र दिन्छ सजिलै आफै पकाउन्न म

खानै खातिर जन्मिएँछु दिलमा खाने कुरो बस्दछ
खाने तर्खरमा म हेर्दिनँ भुइँ, पत्ता र थाली अब 
सारा जीवन खानकै रहरमा जाला कि झैं लाग्दछ
सक्थें गर्न अरू म के मन सधै खानेतिरै लाग्दछ 

खोला खान्छु नदी, हिमालछहरा पाए अरू खान्छु म
घोला खान्छु कुला खला चहुर जे भेटूँ अरू खान्छु म
टोला खान्छु कुरेर बस्छु मुलुकै पाए अझै खान्छु म 
खाने देश परेछभोक छ सधै पाए सबै खान्छु म !

खानेकै दल देख्छु खान मुखले खोज्ने भए हर्दम 
राख्ने होइन खान्छ खान नमिले गर्ने भएँ क्रन्दन 
सारा लोक लुटेर खान अहिले खोज्दैछ खोज्दै धन 
बुझ्दै बुझ्दिनँ खै भयो अमर को खाएर मात्रै जन ?

 

images
प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - २१:४२:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend