Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

लुम्बिनीमा १२ सय सैयाको प्रादेशिक अस्पताल बन्दै

लुम्बिनीमा १२ सय सैयाको प्रादेशिक अस्पताल बन्दै

नेप्लिज डायस्पोरा

१६, भाद्र २०८१
images
लुम्बिनीमा १२ सय सैयाको प्रादेशिक अस्पताल बन्दै

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ । अस्पताल भवनको आज बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्नुभएको हो । छ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा बन्ने अस्पताल १२ तलाको हुनेछ ।

 

लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत शुरु भएको हो ।

 

सरकारीस्तरमा एउटै अस्पतालमा १२ सय शय्या नभएकोले यो नै देशको सबैभन्दा ठूलो अस्पताल हुने प्रदेश स्वास्थ्य मन्त्रालयको दाबी छ । दुई वटा भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार रुपैयाँ लागत अनुमान गरेको छ ।

 

भवनको निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनीसँग गएको पुस २६ गते ठेक्का सम्झौता गरेको थियो ।

 

२०८५ सालको पुससम्ममा भवन निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 

२०१६ सालमा निर्माण गरिएको भवन जिर्ण बनेपछि अत्याधुनिक सेवासुविधासहितको भवन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

 

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षको लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

 

भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन् । त्यस्तै ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् ।

भवनको छतमा हेलिप्याड बनाउने र हेलिप्याडबाट सिधै इमर्जेन्सी कक्षमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टकोसमेत डिजाइन भएको छ । 

images
प्रकाशित मिति :भाद्र १६, २०८१ आइतवार - ००:४८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend